Techie IT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ५ महिना दैनिक १० घण्टा बन्द

यस परियोजनामा कूल रु १५ अर्ब खर्च हुने अनुमान गरिएको छ। आयोजनाका अनुसार ट्याक्सीवे र एप्रोन विस्तारबाट अन्तर्राष्ट्रिय विमानस्थलको परिचालन क्षमता अभिवृद्धि हुनेछ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान रोक्ने निर्णय गरेको हो। यो निर्णय अन्तर्गत राति १०ः०० बजे देखि बिहान ८ः०० बजेसम्म विमानस्थलको उडान सञ्चालन बन्द हुनेछ। यस समयमा विमानस्थलमा स्तरोन्नतिको काम गरिनेछ, जसले धावनमार्गको क्षमता अभिवृद्धि र यात्रुहरूको सहजताका लागि योगदान पुर्याउनेछ।

स्तरोन्नतिका लागि ट्याक्सीवे र एप्रोन विस्तार

क्यान अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सीवे निर्माण गर्नेछ। यो ट्याक्सीवेले विमानहरूलाई अधिक गतिमा धावनमार्गमा प्रवेश गर्न र बाहिर निस्कन सुविधा दिनेछ, जसले गर्दा उडान व्यवस्थापनलाई थप सुरक्षित बनाउने विश्वास गरिएको छ। यस बाहेक, विमानस्थलको उत्तरतर्फ रहेको इन्टरनेशनल एप्रोन र पूर्वतर्फको ह्याङ्गर एप्रोनको विस्तार पनि गरिनेछ।

यस परियोजनामा कूल रु १५ अर्ब खर्च हुने अनुमान गरिएको छ। आयोजनाका अनुसार ट्याक्सीवे र एप्रोन विस्तारबाट अन्तर्राष्ट्रिय विमानस्थलको परिचालन क्षमता अभिवृद्धि हुनेछ, जसले भविष्यमा यात्रुको संख्यामा हुने वृद्धि व्यवस्थापनमा सहयोग पुर्याउनेछ।

उडान सुरक्षामा सुधारका लागि उडान कटौती

आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार उडान सुरक्षामा कुनै जोखिम नहोस् भनेर दैनिक १० घण्टा उडान बन्द गरिने निर्णय गरिएको हो। यस अवधिमा विशेष गरी रातिको समयमा कुनै अवरोध विना स्तरोन्नतिका कामहरू सम्पन्न गर्न सजिलो हुनेछ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालका प्रमुख विमानस्थलहरू मध्ये सबैभन्दा पुरानो र व्यस्त विमानस्थल हो। अन्य दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन्।

विसं २०७७ मा पनि विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो, त्यसका लागि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। त्योवेलाको मर्मतले विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) को क्षेत्रमा विस्तार कार्य सम्पन्न गराइएको थियो। यसअघि विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना धावनमार्गको मर्मत कार्य सम्पन्न गरिएको थियो।

उक्त मर्मत अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती गरिएको थियो। विमानस्थलको हालको कार्यतालिका अनुसार आन्तरिकतर्फ करिब १९ हवाई कम्पनी र अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान सेवा प्रदान गर्दै आएका छन्। यस विमानस्थलमार्फत आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडानहरू हुँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट