प्लास्टिकका सामग्रीको बढ्दो प्रयोगले मरिक समुदायको परम्परागत पेसामा संकट
सुनसरीको हरिनगर गाउँपालिका–२ का भटाई मरिक छठ पर्वको समयमा बाँसका सामग्री बनाएर वर्षभरिको खर्च जुटाउनमा व्यस्त हुनुहुन्छ। तर यस वर्ष बाँसका सामग्रीको बिक्री घट्दा उनको जीविकोपार्जनमा समस्या भएको छ।
भटाईले गत वर्ष छठ पर्वमा १५० वटा कोनिया र १२५ वटा ढकीया बिक्री गर्नुभएको थियो, तर यस वर्ष ५० देखि १०० कोनिया र ९० वटा ढकीया मात्र बिक्री भएको उनले बताए।
भटाईजस्तै हरिनगर–२ का बिन्देश्वर मरिकले पनि साहु तथा यजमानबाट लिएको ऋण तिर्ने र घर खर्च चलाउने सोचले बाँसका सामग्री बनाउँदै आएका छन्। तर आधुनिक प्लास्टिकका सामग्रीको प्रयोग बढ्दै जाँदा बाँसका परम्परागत सामग्रीको बिक्रीमा कमी आएको उनको गुनासो छ।
मरिक समुदायले विशेष गरी चाडपर्वलाई आम्दानीको अवसरको रुपमा लिने गरेका छन्, तर प्लास्टिक र पित्तलका सामग्रीले परम्परागत व्यवसायमा चुनौती थपेको छ। चन्दन मरिकका अनुसार बजारमा प्लास्टिकबाट बनेका नाङ्ग्लो, ढकीया, र पित्तलका कोनिया जस्ता सामग्री उपलब्ध भइरहेकाले बाँसका सामग्रीको माग घटेको हो।
लोक आस्था र श्रद्धाको पर्व छठमा परम्परागत रूपमा बाँसबाट निर्मित सामग्रीको प्रयोग हुने गरे पनि पछिल्ला वर्षहरूमा प्लास्टिकका सामग्रीको चलनले मरिक समुदायको पुख्र्यौली पेसा संकटमा परेको बिन्देश्वर मरिकले बताए।
मरिक समुदायका अगुवाहरूले पुख्र्यौली पेसा संरक्षण र बजारीकरणका लागि स्थानीय तह र सरोकार भएका निकायहरूबाट सहयोग आवश्यक रहेको बताएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस