आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बर्सेनि बढ्दै, भौतिक पूर्वाधारको अभाव
दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बर्सेनि उल्लेख्य रूपमा बढिरहेको छ। विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिहरू, विशेषगरी पारम्परिक औषधि र उपचार पद्धतिमा विश्वास गर्नेहरूले यो चिकित्सालयलाई प्राथमिकता दिन थालेका छन्।
प्रादेशिक आयुर्वेद चिकित्सालयमा दाङ, रोल्पा, सल्यान, रुकुम, डोल्पा, सुर्खेत र नेपालगञ्ज लगायतका जिल्ला र क्षेत्रबाट बिरामी आउने गरेका छन्। आयुर्वेदिक पद्धतिबाट उपचारमा सहजता र सस्तोपन भएकाले बिरामीहरूको आकर्षण बढ्दै गएको छ।
चिकित्सालयका प्रमुख एवं निर्देशक डा. सन्तोषकुमार ठाकुरका अनुसार, अहिले दैनिक करिब दुई सय बिरामीले उपचार सेवा लिँदै आएका छन्। अस्पतालमा पाइल्स र फिस्टुला उपचारका लागि विशेष रूपले क्षारसूत्र विधि, पञ्चकर्म र अग्निकर्मजस्ता उपचार सेवा उपलब्ध छन्, जसले धेरै बिरामीहरूलाई राहत प्रदान गरेको छ।
बिरामीको अनुभव
रोल्पा सिउलीबाङकी ७१ वर्षीया सरुमा विक पेट दुख्ने समस्या समाधानका लागि अन्य स्थानमा उपचार गर्दा निको नभएपछि यहाँ आएकी थिइन्। उनीसँगै अन्य धेरै बिरामी पनि सस्तो र प्रभावकारी उपचारको लागि आयुर्वेदिक चिकित्सालयमा आएका छन्। घोराही उपमहानगरपालिकाका ७६ वर्षीय तिलकबहादुर खत्रीले यस चिकित्सालयमा २५ रुपैयाँमा उपचार सेवा प्राप्त गर्न सकिने र उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको बताए।
चिकित्सालयमा बहिरङ्ग, अन्तरङ्ग, स्त्रीप्रसूति, ज्येष्ठ नागरिक सेवा, सुरक्षित मातृत्व, तथा पञ्चकर्मसम्बन्धी विविध सेवा दिइन्छ। यहाँ उपचार गराउनेहरूलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराइन्छ, र शल्यक्रिया गर्नु परेमा पनि न्यून शुल्कमा भर्ना सुविधा प्रदान गरिन्छ।
बिरामीहरूको सङ्ख्या बढ्दै गएपछि चिकित्सालयमा नयाँ सुविधाहरू थप्दै सेवा प्रभावकारी बनाउने प्रयास भइरहेको सूचना अधिकारी वसन्तबहादुर केसीले जानकारी दिए।
प्रादेशिक आयुर्वेद चिकित्सालयलाई थप स्तरोन्नति गरी ५० शय्याको सुविधायुक्त बनाउनुपर्ने माग रहेको छ। हाल ओपीडी र इन्डोर सेवा एउटै भवनबाट सञ्चालन भइरहेको छ। प्रमुख ठाकुरका अनुसार, भौतिक पूर्वाधारको अभावमा बिरामीको उच्च चापलाई व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। यदि यहाँको भौतिक पूर्वाधार सुधार र थप जनशक्ति परिचालन गरिएमा बिरामीहरूको संख्या झन् बढ्न सक्ने अनुमान गरिएको छ।
बिरामीको संख्या र वृद्धि
चिकित्सालयका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा २४ हजार ४२१ बिरामीले सेवा लिएका थिए भने आव २०७८/७९ मा यो संख्या ५० हजार ९६ मा पुग्यो। आव २०७९/८० मा ७१ हजार २३३ ले सेवा लिएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा यो संख्या थप वृद्धि भइ १ लाख ९ हजार ८५२ पुगेको छ।
स्थापना कालदेखि विभिन्न आयुर्वेदिक उपचार सेवा प्रदान गर्दै आएको यो चिकित्सालय हाल प्रदेशभरकै दोस्रो ठूलो आयुर्वेदिक अस्पतालका रूपमा स्थापित भएको छ। विशेषगरी पारम्परिक चिकित्सा विधिहरूमा विश्वास गर्नेहरूका लागि यहाँको सेवा उत्कृष्ट रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस