मरिक समुदाय छठका लागि बाँसका सामग्री बनाउन व्यस्त
सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा बसोबास गर्ने मरिक समुदायको जीवनशैली छठ पर्व नजिकिएसँगै निकै व्यस्त र चलायमान बनेको छ। भट्टाई मरिकजस्ता स्थानीयहरू बिहान सबेरै हातमा बाँस र दाउ (खुर्पाजस्तो हतियार) लिएर घरबाट निस्कन्छन्। यी सामग्रीलाई आवश्यकता अनुसार काटेर छठ पर्वमा प्रयोग हुने विभिन्न सामाग्री बनाउने कार्यमा जुट्छन्।
यहाँको मरिक समुदायका व्यक्तिहरूको लागि छठ पर्व विशेष महत्व राख्छ। मरिक समुदायका गीता मरिक पनि यस पर्वको व्यग्र प्रतीक्षामा रहन्छिन्। उनी भन्छिन्, “कतिबेला बिहान हुन्छ र काममा जुट्न पाइएला भनेर प्रतीक्षा हुन्छ।” भट्टाई र गीता मरिक मात्र होइनन्, हरिनगरका धेरै मरिक समुदायका व्यक्तिहरू यसैगरी बिहानैदेखि काममा व्यस्त हुने गर्छन्। यो पर्व उनीहरूका लागि धार्मिक र सांस्कृतिक आस्थाको प्रतीक मात्रै होइन, आर्थिक स्रोतको एक महत्वपूर्ण अवसर पनि हो।
छठ पर्व आउन पाँच दिनमात्र बाँकी छ, तर यसका लागि चाहिने सामग्री बनाउन उनीहरूलाई हप्तौँ अघिदेखि नै तयारी गर्नुपर्ने हुन्छ। इनरुवा, हरिनगर, देवानगन्ज, इटहरी, दुहबी, रामधुनी, कोसी, बराह क्षेत्रलगायतका क्षेत्रहरूमा बसोबास गर्ने मरिक समुदाय छठको तयारीमा मिहिनेतका साथ जुटेका छन्।
बाँसका सामग्रीको निर्माण र माग
छठ पर्वमा आवश्यक पर्ने कोनियाँ, ढकी, नाङ्गलोलगायत बाँसका सामग्रीको ठूलो माग हुन्छ। हरिनगर–२ का स्थानीय वीरेन्द्र मरिकले बाँसको यी परम्परागत सामग्रीहरू बनाएर छठमा बिक्री गर्ने बताउँछन्। छठमा बाँसका सामग्रीको उच्च माग हुने हुँदा उनीहरूले यी सामग्री बनाएर प्राप्त आम्दानीबाट पर्वको खर्च जुटाउँछन्।
अनिता मरिकले भनिन्, “हामीले हरेक वर्ष छठ आउनुभन्दा एक महिना अगाडिदेखि नै बाँसका सामग्री बनाउने गरेका छौँ। यसैबेला त हो आम्दानी गर्ने अवसर पाउने। अरु बेला यति ठूलो माग हुँदैन। हामी थोरै भए पनि रकम जम्मा गरेर आफ्नो र परिवारको आवश्यकता पूरा गर्न सकिरहेका छौँ।”
भट्टाई मरिकले पनि छठको लागि गाउँगाउँबाट बाँस किनेर ल्याउने र त्यसलाई विभिन्न सामग्रीमा परिमार्जन गर्ने काम गरिरहेको बताए। उनी भन्छन्, “यसबाट थोरै भए पनि आम्दानी हुने गरेको छ, जसले हाम्रो आर्थिक स्थिति केही समयका लागि सुदृढ पार्छ।”
छठ पर्वको समयमा बाँसकै सामग्री आवश्यक पर्ने हुँदा वर्षभरि आम्दानीको अवसर नपाएका मरिक समुदायका लागि यो पर्व विशेष अवसर बनिदिन्छ। स्थानीय विन्देश्वर मरिक भन्छन्, “अरु बेला त कमाइ हुँदैन। त्यसैले हामीले छठ पर्खेर बस्नुपर्ने हुन्छ। हाम्रो लागि यो पर्व आम्दानीको महत्त्वपूर्ण स्रोत हो।”
चन्दन मरिकले आफ्नो आम्दानीको अन्य स्रोत नभएकाले छठ पर्व नै मुख्य आम्दानीको माध्यम भएको बताउँछन्। उनी यस पर्वमा बाँसका सामग्री बिक्री गरेर वर्षभरिका लागि केही रकम जम्मा गर्न पाउँछन्। यही आम्दानीबाट उनीहरू आफ्नो परिवारको खर्च धान्छन् र बच्चाहरूको शिक्षादीक्षाको खर्च समेत ब्यहोर्छन्।
दुई जनाको सहारामा एउटा बाँसको ढकी बनाउनका लागि दुई दिनसम्म लाग्न सक्छ। गीता मरिकले यो वर्ष छठसम्ममा दुई सय कोनियाँ र ढकी बनाउने योजना बनाएकी छिन्। यद्यपि, पछिल्लो समयमा आधुनिकताका कारण प्लास्टिक लगायतका सामग्रीको प्रयोग बढ्दै गएपछि उनीहरूले बनाएका सामग्रीको मागमा केही कमी आएकोमा उनी चिन्तित छिन्।
गीता मरिकको अनुभव अनुसार प्लास्टिकका सामग्रीहरूले मरिक समुदायको परम्परागत धन्दा प्रभावित हुँदै गएको छ। उनी भन्छिन्, “प्लास्टिकका सामग्रीको लोकप्रियताले गर्दा हाम्रो परम्परागत सामग्रीको माग घट्दै गएको छ। हामीलाई यसले दीर्घकालीन आर्थिक चुनौती थपेको छ।"
वास्तवमा, मरिक समुदायको आर्थिक सुधारका लागि बाँसका परम्परागत सामग्रीहरूको व्यवसायीकरण महत्वपूर्ण हुन सक्छ। सरकारी र गैरसरकारी निकायहरूले आवश्यक सहयोग प्रदान गरेमा मरिक समुदायका सदस्यहरूलाई दीर्घकालीन रूपमा आर्थिक रूपमा सक्षम बनाउने अवसर प्राप्त हुन सक्छ।
तपाईको प्रतिक्रिया दिनुहोस