२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती
भेरीगङ्गा नगरपालिका-११ का २४ वर्षीय समीर खत्री तिहारको सिजनमा फूल बेच्न व्यस्त हुनुहुन्छ। तिहारको समयमा फूलको माग अत्यधिक हुने भएकाले समीरले यस वर्ष रु पाँच लाख बराबरको फूल बिक्री गर्ने लक्ष्य राखेका छन्। भाइटीका आउन एक दिन बाँकी छँदासम्म समीरले करिब रु ३ लाख ५० हजारको कारोबार गरिसकेका छन् । सुर्खेतमा हाल फूलको मूल्य प्रति किलो रु ४०० रहेको छ।
समीरका अनुसार तिहार र छठ पर्वसम्ममा रु पाँच लाख बराबरको फूल बेच्ने लक्ष्य लिएको छ। अहिले मूल्य पनि राम्रै पाइन्छ, त्यसैले यो लक्ष्य नजिक पुगिसकेको उनको भनाइ छ।” मध्यपश्चिम विश्वविद्यालयमा बाली विज्ञान अध्ययन गरिरहनुभएका समीरले आफ्नो किताबी ज्ञानलाई प्रयोग गर्दै भेरीगङ्गा नगरपालिका-११ मा आठ रोपनी जमिनमा फूलखेती गरिरहेका छन् । यसबाट वार्षिक करिब रु आठ लाख सम्म आम्दानी हुने गरेको छ। मुख्यतया सयपत्री फूल उत्पादन गरेका समीरले वर्षभरि विभिन्न कार्यक्रम, सभा, र पूजाआजाका लागि फूल बिक्री गर्ने गर्छन्, तर तिहारमा विशेषगरी धेरै बिक्री हुन्छ।
उनले यो व्यवसाय सुरु गरेको दुई वर्ष भयो। गत वर्ष रु सात लाखको आम्दानी गर्न सफल भएपछि समीर यस वर्ष रु दश लाख आम्दानीको अपेक्षामा हुनुहुन्छ। उनि भन्छन्, “गत वर्ष २० क्विन्टलभन्दा बढी फूल जिल्ला बाहिर निर्यात गरेको थिएँ, यस वर्ष ६ रोपनीबाट ८ रोपनीमा विस्तार गरेकोले उत्पादन झन् बढ्ने अपेक्षा छ।”
समीरले ‘वायो ग्रीन एग्रो प्रालि’ नामक फर्म दर्ता गरेर त्यसैमार्फत कारोबार गर्दै आएका छन् । कारोबार राम्रो भए पनि बजारमा सस्तोमा पाइने प्लास्टिकका फूलहरूले आफू जस्ता व्यवसायीलाई असर पुर्याएको उनको गुनासो छ।
उनले बाहिरबाट आउने यस्ता फूलमा सरकारले रोक लगाउनुपर्ने माग राख्दै भने, “नेपालमै धेरै अवसरहरू छन्। अलिकति मिहिनेत गर्न सके विदेश जानै पर्दैन, तर यसका लागि सरकारले युवालाई सीप र ज्ञान दिने र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्छ।”
भेरीगङ्गा नगरपालिकाले पनि स्वदेशी फूललाई प्रोत्साहन गर्न बाहिरबाट आउने फूलमा कडाइ गरेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस