सुदूरपश्चिम प्रदेशका यी पालिकामा हुदैँछ उपनिर्वाचन, उम्मेद्वार छनोट हुदैँ
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका छ पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ। यस उपनिर्वाचनअन्तर्गत बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको पद पूर्ति गरिनेछ। यी पदहरू नेपाली कांग्रेसका निर्वाचित जनप्रतिनिधिहरूको निधनपछि खाली भएका थिए।
प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमदत्त भट्टका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउँपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन गरिनेछ। यहाँका वडाध्यक्षहरू पनि विभिन्न कारणले दिवंगत भएका थिए, जसमा भीमदत्त–६ र पूर्वीचौकी–६ मा कांग्रेसका निर्वाचित जनप्रतिनिधि र सुर्मा–४ र दुहु–५ मा नेकपा (एमाले)का निर्वाचित वडाध्यक्षको निधन भएको थियो।
निर्वाचन प्रक्रियाको तयारीअनुसार, कात्तिक २० गते सम्बन्धित पालिका र वडा तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिनेछ। भट्टले भने, "वडास्तरीय उपनिर्वाचनमा स्थानीयस्तरमै निर्वाचन कार्यालय राखी परिणाम पनि सोही ठाउँमा घोषणा गरिनेछ।"
प्रमुख दलहरूले यस उपनिर्वाचनका लागि प्रत्याशी चयन गर्न थालेका छन्। नेपाली कांग्रेसले कैलाली जिल्ला समन्वय समितिको संयोजकमा धनगढी उपमहानगरपालिका–२ का वडासदस्य केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसैगरी, स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले कुन्तिसरा शाहीलाई प्रत्याशी बनाउने निर्णय गरेको छ। कांग्रेसले भीमदत्त–६ को वडाध्यक्ष पदमा प्रकाशबहादुर चन्द र डोटीको पूर्वीचौकी–६ मा मोहन थापालाई उम्मेदवारका रूपमा अघि सारेको छ।
नेकपा (एमाले)ले पनि उपनिर्वाचनका प्रत्याशी छनोटमा सक्रियता देखाएको छ। एमालेले भीमदत्त–६ को वडाध्यक्ष पदमा बहादुर चन्दलाई प्रत्याशी बनाउने तयारी गरेको छ भने गाउँपालिका उपाध्यक्ष र जिल्ला समन्वय समितिको संयोजकमा कसलाई चयन गर्ने भन्नेबारेमा प्रदेश कमिटीले चाँडै निर्णय गर्ने जनाएको छ।
प्रदेशसहित देशभरका विभिन्न पालिकामा रिक्त रहेका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, तथा वडाध्यक्ष पदहरू उपनिर्वाचनमार्फत पूर्ति गरिनेछ। स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार, रिक्त पदको अवधि एक वर्षभन्दा बढी बाँकी रहेका अवस्थामा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।
तपाईको प्रतिक्रिया दिनुहोस