जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन, ६१ करोड आम्दानी
यस वर्ष जुम्लामा २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ। कृषि विकास कार्यालयका अनुसार, जिल्लाका ४,२५० हेक्टरमा खेती गरिएका स्याउबाट यो परिमाणको उत्पादन भएको हो।
यो उत्पादनले जिल्लामा ६१ करोड ४१ लाख रुपैयाँको आम्दानी भित्र्याएको छ।
जुम्लाका आठवटै स्थानीय तहका किसानहरूले उब्जाएका स्याउहरू मध्ये नौ हजार ३९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात गरिएको छ। कार्यालय प्रमुख बालकराम देवकोटाका अनुसार, ट्रक, बस, जिप, हाइस र हवाईमार्गबाट यो निर्यात गरिएको हो।
ट्रकबाट ६,९९३ मेट्रिक टन, बसबाट १,६६० मेट्रिक टन, जिप र हाइसबाट ६६४ मेट्रिक टन, र जहाजबाट ७४ मेट्रिक टन स्याउ विभिन्न स्थानमा पठाइएको हो।
जुम्ली किसानहरूले प्रतिकिलो स्याउको औसत मूल्य रु ६० पाएका छन्। स्याउ व्यापारमा ८३७ व्यापारी संलग्न भएका छन् । यसरी स्याउ उत्पादनले जुम्लामा आर्थिक लाभ मात्र नभई किसानहरूको जीवनस्तरमा पनि सकारात्मक प्रभाव पारेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस