Techie IT

आरोहीका छोरा ७५ वर्षपछि पिताको पदचाप पछ्याउँदै अन्नपूर्णमा


७५ वर्षअघि पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगले आफ्नो पिताको ऐतिहासिक यात्रा पुनः अनुभव गर्न अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा पूरा गरेका छन्। 

अन्नपूर्ण गाउँपालिका–४, नारच्याङबाट आफ्नो यात्रा सुरु गर्दै माथिएस गत शनिबार पिताका पदचिन्ह पछ्याउँदै अन्नपूर्ण हिमालको आधार शिविर पुगेका हुन्।

सन् १९५० जुन ३ मा मौरिस हर्जोगको नेतृत्वमा फ्रान्सेली टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भन्दा तीन वर्षअघि नै अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) को सफल आरोहण गरेको थियो। मौरिसको यस ऐतिहासिक यात्रा स्मरण गर्दै माथिएसले अन्नपूर्ण क्षेत्रको सौन्दर्यता र पर्यटन सम्भावनाबारे विश्वभर प्रचारप्रसार गर्न आग्रह गरेका छन्। उनका अनुसार, यो क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटनका सम्भावनाहरूलाई उजागर गर्न अझै धेरै प्रयास गर्नुपर्ने आवश्यकता छ।

माथिएससँगै अन्नपूर्ण आधारशिविर पुगेका मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताएअनुसार माथिएसले पञ्चकुण्ड ताल नजिक राखिएको आफ्नो पिताको सालिकमा माल्यार्पण गर्नुका साथै ध्यानसमेत गरेका थिए। 

पदयात्राका क्रममा माथिएसले ७५ वर्षअघि पिताले सामना गरेको कठोर बाटो देख्दा अचम्मित भएका थिए। गुरुङका अनुसार, त्यस समयमा पदमार्गको विकास नभएको हुँदा यात्रा झनै कठिन र साहसिक थियो।

सन् २०२५ मा अन्नपूर्ण हिमालको ७५औं आरोहण वार्षिकोत्सव मनाउने क्रममा माथिएसले ८२ वर्षीया आमासहित परिवारका अन्य सदस्यहरू पनि पदयात्रामा आउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, मौरिसले लेखेको ‘द अन्नपूर्ण’ पुस्तकलाई नेपाली र अन्य भाषामा अनुवाद गरेर प्रकाशित गर्ने योजना रहेको पनि जानकारी दिए।

अन्नपूर्ण गाउँपालिकाले मौरिस हर्जोगको ऐतिहासिक योगदानलाई सम्मान गर्दै नारच्याङबाट अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नाम दिएको छ र आधार शिविरमा मौरिसको सालिक स्थापना गरेको छ। 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले माथिएसको भ्रमणले अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने आशा व्यक्त गरेका छन्।

अन्नपूर्णको केन्द्रविन्दु पोखरेबगरबाट २२ किलोमिटरको यात्रा सवारीसाधनमा गरी होमखोलासम्म र त्यसपछि २१ किलोमिटरको पदयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ। फुतफते झरना, पञ्चकुण्ड ताल, र अन्नपूर्ण हिमालको अनुपम दृश्यले यो पदमार्गलाई आकर्षक पर्यटकीय गन्तव्य बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट