चुरेको काखमा सिरहाको पर्यटकीय मोती: गोसाइ ताल
सिरहा जिल्लाको चुरे क्षेत्रको फेदमा अवस्थित गोसाइ डाँडा ताल पर्यटकका लागि आकर्षणको नयाँ गन्तव्य बनेको छ। हरियाली वन, शान्त वातावरण र मनमोहक तालको दृश्यले यसलाई विशेष बनाएको छ। लहान नगरपालिका-१५ बानोगाउँस्थित झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वनभित्र बनेको यो ताल प्राकृतिक सुन्दरतासहित पर्यटन विकासको लक्ष्यका साथ निर्माण गरिएको हो।
पूर्व-पश्चिम राजमार्गको लहान बजारबाट करिब १० किलोमिटर उत्तरमा पर्ने गोसाइ डाँडा ताल करिब दुई बिघा क्षेत्रफलमा फैलिएको छ। यस तालको वरिपरि अन्य चारवटा पोखरी पनि छन्, जसले यसलाई थप आकर्षणको केन्द्र बनाएको छ। तालको सौन्दर्यीकरण र पर्यटकीय विकासका लागि ७० लाख वन कार्यालय लहान, २० लाख वन तथा भूसंरक्षण विभाग, ४० लाख जलस्रोत तथा सिँचाइ विभाग, र १५ लाख संसद विकास कोषबाट सहयोग प्राप्त भएको छ।
पर्यटन विकास कार्यालय लहानबाट यस आर्थिक वर्षमा ५० लाखको थप बजेट प्राप्त भएको छ। यस बजेटबाट तालमा बोटिङ, विश्रामस्थल, ताल घुम्ने बाटो, शौचालय, र वनभोज स्थल बनाइएको छ भने महादेव र हनुमान मन्दिर निर्माणको कार्य अधुरो रहेको छ। आगामी दिनमा भ्युटावर बनाउने योजना समेत रहेको अध्यक्ष लगनलाल चौधरीले बताए।
स्थानीयका अनुसार गोसाइ डाँडा तालले पोखराको फेवातालको झल्को दिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ। तालको बीचमा उभिएको जमिनको भागले प्राकृतिक दृश्यलाई झन् आकर्षक बनाएको छ। पर्यटकीय विकाससँगै यस क्षेत्रले स्थानीय बासिन्दाका लागि रोजगारीको अवसर समेत प्रदान गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस