स्वदेशी फूलमालाको प्रयोग गर्ने नवलपुरका स्थानीय तहहरूको आग्रह
नवलपुरका स्थानीय तहहरूले स्वदेशमै उत्पादन भएका फूल र फूलमालाको प्रयोगलाई प्रोत्साहन गर्न आग्रह गरेका छन्। विशेष गरी तिहार पर्वको अवसरमा प्लास्टिकका फूलमाला बजारमा अत्यधिक रूपमा उपलब्ध हुने र प्लास्टिकले वातावरणीय असर पार्ने र स्थानीय पुष्पखेतीलाई हतोत्साहित गर्ने हुँदा नवलपुरका आठवटै स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकका फूलमालाको बिक्री वितरणमा रोक लगाएका छन्।
कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतका अनुसार, नगरपालिकाले स्थानीय पुष्पखेती गर्ने किसानलाई प्रोत्साहन गर्दै प्लास्टिकका फूलमालाको प्रयोगमा रोक लगाएको छ।
उनले भनिन्, “हामीले स्थानीय किसानलाई प्रवर्द्धन गर्नका लागि सामाजिक सञ्जालको माध्यमबाट उनीहरूको सम्पर्क नम्बर सहित सूचनाहरू सार्वजनिक गरेका छौँ ताकि उपभोक्ताहरू स्थानीय किसानसँगै सम्पर्क गरेर आफ्ना आवश्यकता अनुसार फूलमाला खरिद गर्न सकून्।”
देवचुली नगरपालिकाले पनि युवा लक्षित पुष्पखेती प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ। देवचुलीका उपप्रमुख पार्वता तिवारीले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिन र वातावरण संरक्षण गर्न प्लास्टिकका फूलमालामा प्रतिबन्ध लगाइएको जानकारी दिइन्।
साथै, किसानको उत्पादनलाई बजारसम्म पुर्याउन र उपभोक्ताहरूलाई सहज बनाउन समन्वयात्मक प्रयास गरिने पनि उनले बताइन्।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले स्थानीय पुष्पखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानहरूको सम्पर्क विवरण पालिकाको सामाजिक सञ्जाल र वेबसाइटमा सार्वजनिक गरिएको बताए।
यसबाट उपभोक्ताहरूले आफ्ना नजिकका किसानसँग सिधा सम्पर्क गरी फूलमालाको खरिद गर्न सक्नेछन्। उनले भने, “हाम्रो उद्देश्य स्थानीय फूलले सहज बजार पाओस् भन्ने हो।”
जिल्लाका अन्य पालिकाहरूले पनि पुष्पखेतीलाई प्रोत्साहन गर्न अनुदान तथा बीउबिजन उपलब्ध गराउँदै किसानहरूलाई सहजीकरण गरिरहेका छन्। बौदीकाली पालिकाले गत वर्षदेखि पुष्पखेतीलाई व्यवसायिक रूपमा प्रवर्द्धन गर्न बीउबिजन र बजारीकरणमा सहयोग गरेको छ।
बौदीकाली पालिका अध्यक्ष प्रकाश ओझाका अनुसार, यहाँ उत्पादन भएका फूलहरूलाई पोखरा, बुटवल, चितवन जस्ता ठूला सहरमा निर्यात गर्ने लक्ष्यसहित स्थानीय किसानहरूलाई प्रोत्साहित गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस