Techie IT
२०८२ वैशाख ६, शनिबार

अन्तर्राष्ट्रिय वैज्ञानिकमा कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल


शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । 

सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा, वातावरण र बायोमेडिकल बारे भएका पछिल्ला अनुसन्धान, अन्वेषणबाट पत्ता लागेका कुरा तथा अनुसन्धानबाट हासिल उपलब्धिको उपयोगिताको सम्भावनाका बारेमा समेत छलफल भएको छ ।     
    
‘नेपाल मटेरियल्स साइन्स सोसाइटी’को आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा जारी ‘एड्भान्स फङ्सनल मटेरियल्स’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन सुरुआतमा चीनको साङ्घाइस्थित दोङ्वा विश्वविद्यालयका प्राध्यापक बिन दिङले ऊर्जाका क्षेत्रमा गरिएको आफ्नो अनुसन्धान र विश्वमा पछिल्लो समय भइरहेका अन्वेषणबारे आफ्नो धारणा राखेका थिए । उनले नयाँ प्रविधिको प्रयोग गरेर न्यानो फाइबरको उत्पादन र यसको उपयोगिताबारे जानकारी गराएका थिए ।     
    
न्यानो फाइबरलाई ऊर्जा भण्डारण, ब्याट्री बनाउन, मानव स्वास्थ्यका लागि हानिकारक ग्यास सोस्नेलगायत विषयमा उपयोग गर्न सकिने प्राध्यापक दिङले जानकारी दिए । उनले न्यानो फाइबरलाई मानव स्वास्थ्यको उपचारका लागि पनि प्रयोग गर्न सकिने उल्लेख गरे ।     
    
त्यसैगरी जापानस्थित नेशनल इन्स्टिच्युट फर मटेरियल्स साइन्स (निम्स)का प्राध्यापक डा लोककुमार श्रेष्ठले ऊर्जा, वातावरण र नानो मटेरियल्स’सम्बन्धी शीर्षकमा धारणा राख्दै ऊर्जा भण्डारण गर्ने उपकरण कसरी निर्माण गर्न सकिन्छ र यसको कार्यक्षमता के हुन्छ भन्ने विषयमा सहभागीलाई अवगत गराएका थिए ।     
    
हेल्थकेयर, बायोमेडिकल शीर्षकमा मन्तव्य राख्दै त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागका प्रा डा पारसना यादवले नेपालमा क्यान्सरको उपचारका सम्बन्धमा भए–गरेका अनुसन्धानबारे जानकारी गराइन् । त्यस्तै सोही विषयमा धारणा राख्दै डा कृष्ण कट्टेलले क्यान्सरको उपचारमा विश्वमा चलिरहेको नयाँ पद्धतिको अनुसन्धान र उपचार विधिका बारेमा व्याख्या गरेका थिए ।     
    
यसैगरी, आइआइटी रुड्की भारतका प्रा डा विमल श्रीवास्तवले वायुमण्डलमा उत्सर्जन भएको कार्बनडाइक्साइड लाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए । उनले वायुमण्डलमा कार्बन उत्सर्जनलाई कम गर्ने मात्र नभएर उत्सर्जित कार्बनडाइक्साइडबाट अल्कोहल बनाउन सकिने विषयमा आफ्नो धारणा राखे ।
    
सम्मेलनको दोस्रो दिन विभिन्न मुलुकका ३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताले ऊर्जा, वातावरण र बायोमेडिकलबारे विभिन्न अनुसन्धानात्मक कार्यपत्र प्रस्तुत गरेका थिए । भारत, चीन, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, जापान, संयुक्त राज्य अमेरिकालगायत १६ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ता सहभागी उक्त सम्मेलन आजसम्म चल्नेछ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट