Techie IT

कर्णाली प्रदेशमा ‘खर्क’ व्यवस्थापनको रणनीति तयार गर्दै


सुर्खेत - कर्णाली प्रदेशको हिमाली क्षेत्रमा रहेको ‘खर्क’ (गोठ) व्यवस्थापनलाई व्यवस्थित गरी आम्दानीको स्रोत बनाउन सरोकारवालाले सुझाव दिएका छन्। प्रदेशका हिमाली जिल्लामा पाइने खर्कमा चरिचरन क्षेत्र र बहुमूल्य जडीबुटीको उपलब्धता रहेको भए पनि उचित व्यवस्थापन र संरक्षण नहुँदा अपेक्षित आम्दानी लिन नसकेको निष्कर्षमा उनीहरू पुगेका छन्। 

खर्क व्यवस्थापन मार्फत उत्पादनमुखी प्रणाली स्थापना गरेर पर्यटन, जडीबुटी उत्पादन, र पशुपालनसँगै आयात प्रतिस्थापन र विदेशी मुद्रा आर्जन गर्न सकिने तर्क गरिएको छ।

कर्णाली प्रदेश सरकार, युएसएआइडीको जलजङ्गल परियोजना, र इसिमोडको समन्वयमा सुर्खेतमा आयोजित एक गोष्ठीमा खर्क व्यवस्थापनसम्बन्धी रणनीति तयार गर्न व्यापक छलफल गरिएको हो। गोष्ठीमा इसिमोडका प्रतिनिधि डा सिर्जना जोशी र ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसी प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठको प्रस्तुति भएको थियो। यसपछि, विभिन्न क्षेत्रका विज्ञहरूले कर्णाली प्रदेशका खर्कलाई संरक्षण र समृद्धिका लागि प्रमुख स्रोतको रूपमा विकास गर्ने सुझाव राखेका थिए ।

खर्कको बहुमूल्य स्रोतको उपयोग
मध्यपश्चिम विश्वविद्यालय विज्ञान सङ्कायका डिन डा सुदीप ठकुरीले खर्कलाई बहुमूल्य स्रोतसाधनको रूपमा चिनाउँदै ती स्रोतसाधनको उचित परिचालन हुन नसक्दा आम्दानीको कमी भइरहेको बताएका छन् । उनले खर्कमा पाइने चरिचरन क्षेत्र र जडीबुटीको उपयोग गरी उत्पादन र नाफा लिनेतर्फ ध्यान दिनुपर्ने औँल्याए । "हाम्रा खर्कमा बहुमूल्य जडीबुटी र चरिचरन क्षेत्र छन्, ती स्रोतको उपयोग गर्न सके आम्दानीको ठूलो स्रोत बन्न सक्छ," ठकुरीले भने।

गोष्ठीमा जलवायु परिवर्तनका कारण हिमाली खर्कमा पानीको मात्रा अनिश्चित हुँदा चरिचरन र जडीबुटीको उत्पादनमा समस्या आएको विषयमा पनि छलफल भएको थियो । डा उत्तमबाबु श्रेष्ठले खर्कहरूमा जलवायु परिवर्तनले प्रत्यक्ष असर पारेको र अनियमित मौसमका कारण चरिचरन र जडीबुटी उत्पादनमा ह्रास आएको बताएका थिए ।

यसका साथै, खर्कको व्यवस्थापनका लागि कानुनी संरचना र तीन तहका सरकारहरूबीच समन्वय आवश्यक भएको कुरा पनि छलफलमा उठेको थियो । डोल्पाका डिभिजन वन कार्यालय प्रमुख मुनबहादुर रावतले खर्क व्यवस्थापन समितिले कानुनी समस्याहरू समाधान गर्न ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले खर्क व्यवस्थापनसम्बन्धी नीति र योजना बनाउन चासो देखाएको छ। मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले खर्कलाई आम्दानीको स्रोत बनाउन नीति निर्माण गर्न साझेदार निकायहरूसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । "कर्णालीको आन्तरिक आम्दानी कमजोर रहेको समयमा खर्क व्यवस्थापनले प्रदेशको अर्थतन्त्रलाई बलियो बनाउन सक्नेछ," कोइरालाले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट