काजी रोशन साहित्य पुरस्कार ‘फरैना’लाई
गण्डकी : धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यस वर्षको ‘काजी रोशन साहित्य पुरस्कार’ दाङ, घोराहीका लेखक सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’लाई प्रदान गरेको छ ।
२५ हजार राशिको उक्त पुरस्कार आज आयोजित एक समारोह बीच साहित्यकार एवं कलाकार गङ्गा सुवेदी, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी र प्रतिष्ठानका अध्यक्ष काजी रोशनले संयुक्त रुपमा प्रदान गरेका थिए । विसं २०४४ देखि प्रदान गरिँदै आएको उक्त पुरस्कारबाट यस अघि १६ जना साहित्यकार सम्मानित भैसकेका छन् ।
सोही समारोहमा प्रतिष्ठानद्वारा स्थापित ‘बम–सरस्वती स्मृति पुरस्कार’बाट साहित्यकार एवं अभिनव साहित्य समाज, काठमाडौँका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘बेदमणि’लाई पुरस्कृत गरिएको छ । त्यस्तै ‘हिमलाल–मन्धरा स्मृति पुरस्कार’ कपिलवस्तुका साहित्यकार हरिराज शर्मा ‘हरिश’लाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही रु. १५ हजार रहेको प्रतिष्ठानका प्रबन्ध समितिका सदस्य हरिप्रसाद पाण्डेयले बताएका छन् ।
प्रतिष्ठानका अध्यक्ष काजी रोशनलाई केही समय अघि धनकुटा स्थित गर्गाचार्य विश्वभाषा सामुदायिक पुस्तकालय द्वारा रु १५ हजार राशिको ‘मधुश्री विशिष्ट साहित्य पुरस्कार’ प्रदान गरिएको थियो । अध्यक्ष रोशनले पुरस्कारको उक्त रकम प्रतिष्ठानको कोषमा रहने गरी प्रतिष्ठानका सदस्य सचिव राम थापा ‘अविरल’लाई हस्तान्तरण गरेका थिए ।
विसं २०४१ मा स्थापित प्रतिष्ठानले विभिन्न पुरस्कार कोष सञ्चालनका साथै विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ । उक्त समारोहमा बागलुङका प्रजिअ नेत्रप्रसाद सुवेदी ‘प्रयास’को कविता कृति ‘प्रयासका कविता’ विमोचन गरिएको छ । उक्त कविता कृति माथि सह–प्राध्यापक हरिप्रसाद गौतमज्यूले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । प्रमुख अतिथि विराटनगरका साहित्यकार एवं कलाकार गङ्गा सुवेदीलाई प्रतिष्ठानद्वारा अभिनन्दन गरिएको अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो ।
प्रतिष्ठानको ३०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर पुरस्कार प्रदान, पुस्तक विमोचन लगायत कार्यक्रम एकै मञ्चमा गरिएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया दिनुहोस