जडीबुटी बिक्रीबाटै मासिक एक लाख ५० हजार सम्म आम्दानी
धरान (सुनसरी) : सङ्खुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पनि पुगे ।
लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेका छन् । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन् ।
“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, शेर्पाले सुनाईन् ।
सुरुका समयमा उनि जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिइन् । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भनिन्, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उनले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइ सकेकी छन् ।
शेर्पाले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउने गरेकी छन् । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने गरेको छ ।
उनको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुर लगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राखेकी छन्। जडीबुटी बिक्रीको अनुमति लिइसके पछि भने निक्कै सहज भएको उनको अनुभव छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापार सम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताईन् ।
शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिए । उहाँ पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उनले सुनाए ।
पुख्र्यौली घर सङ्खुसभा भएका भोटे जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाए । “सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उनले भने, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उनको भनाइ छ ।
भोटेले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाए । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापा लगायतका ठाउँहरु बाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उनले भने, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।"
इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनु भएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा छन् । शेर्पाका अनुसार, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजार देखि १० हजार व्यापार हुन्छ ।” उनले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाए ।
तपाईको प्रतिक्रिया दिनुहोस