Techie IT

कला क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ: संस्कृति मन्त्री पाण्डे


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ललितकला क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। आज मन्त्रालयमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको टोलीसँग भएको छलफलमा मन्त्री पाण्डेले ललितकला क्षेत्रको विकासका लागि समन्वयात्मक प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।

“ललितकला प्रतिष्ठान भनेका हाम्रा थिङ्क ट्याङ्क हुन्। तपाईंहरूले सीमित स्रोत साधनका बीच पनि उत्कृष्ट काम गर्दै हुनुहुन्छ। यसमा मन्त्रालयले सक्दो सहयोग गर्नेछ,” मन्त्री पाण्डेले भने। उनले ललितकलाको विकास प्रतिष्ठानको दायित्व भएको पनि स्पष्ट पार्दै यस क्षेत्रमा थप सृजनशीलता र नवाचारको आवश्यकतामा ध्यानाकर्षण गराए।

छलफलका क्रममा, मन्त्री पाण्डेलाई असोज ११ र १२ गतेको वर्षा र बाढीका कारण प्रतिष्ठानले भोगेको क्षति बारेको प्रतिवेदन बुझाइएको थियो। उनले उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गर्ने जानकारी दिएका छन्।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले मन्त्रालय र प्रतिष्ठान बीचको सहकार्य र संवादलाई अझ सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। उनले भने, “हामीले उत्कृष्ट नतिजा हासिल गर्नको लागि दुवै पक्षबीचको समन्वय महत्वपूर्ण छ।”

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आर्थिक वर्ष २०८०/०८१ मा प्रतिष्ठानले गरेको राष्ट्रिय र प्रादेशिक ललितकला प्रदर्शनीका बारेमा जानकारी गराउँदै, देशका हरेक प्रदेशमा एक–एक वटा कला हब बनाउने योजनाबारे उल्लेख गरे। उनले रामेछापको सुनापति गाउँपालिकामा थाङ्का हबको निर्माणको काम अघि बढिरहेको र दाङको गढवामा सेरामिक्स हबको सम्भाव्यता अध्ययन सकिएको बताए।

काफ्लेले भने, “आव २०८०/०८१ मा काठमाडौँ महानगरपालिका सँगको सहकार्यमा गरिएका भित्तेचित्र र शिक्षामा सिप लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन्। यसका अतिरिक्त, वैश्विक तापमान वृद्धिका कारण नेपाल र हिमाली क्षेत्रमा परेको असर र यसका लागि गर्नुपर्ने कार्यका बारेमा सन्देश दिने हिमालयको रहस्य प्रदर्शनीको आयोजना गरिएको थियो।”

सदस्य सचिव काफ्लेले ललितकला क्षेत्रका विविध काम गर्नको लागि पर्याप्त बजेट र प्रतिष्ठानमा स्थायी कर्मचारीको व्यवस्था हुनुपर्नेमा जोड दिए।

छलफलमा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सौरगङ्गा दर्शनधारी, सञ्जय वान्तवा राई, अरुणा हिङ्माङ, उपप्रशासन प्रमुख कमलमणि काफ्ले, लेखा अधिकृत पङ्कज अधिकारी लगायतका प्रमुख सदस्यहरूको सहभागिता रहेको थियो।

मन्त्री पाण्डेले ललितकला क्षेत्रको उत्थान र विकासका लागि मन्त्रालयले निरन्तर सहयोग गर्ने वचन दिएका छन्, जसले गर्दा कला र संस्कृति क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट