चितवनमा एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दै
चितवन, जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएका हरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो ।
एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार यस वर्षको जनवरी यता पाँच सय ४४ जना सङ्क्रमितको परीक्षणका क्रममा ४५ जनामा भिरिङ्गी रोगको सङ्क्रमण देखिएको हो । उहाँले भन्नुभयो, “अहिलेको समस्या भनेको एचआइभी सङ्क्रमितमा भिरिङ्गी र क्षयरोगको समस्या बढ्दो क्रममा छ ।” असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमित हरुमा भिरिङ्गी रोगको सङ्क्रमणसमेत देखिएको हो । सङ्क्रमित सबैले रोग नियन्त्रणका लागि औषधि सेवन गरिरहेका छन् ।
सापकोटाका अनुसार परीक्षण गरिएका मध्ये १५ जनामा एचआइभी एड्ससँगै क्षयरोगसमेत देखिएको थियो । उनीहरुलाई अहिले नियमित औषधि सेवन गराइएको उहाँले जानकारी दिनुभयो । क्षयरोग देखिनुमा मुख्य समस्या सङ्क्रमितहरुले मादक पदार्थ र धुम्रपानको सेवन अत्यधिक गर्नु रहेको छ । क्षयरोग पुष्टि भएका बाहेक अन्यलाई समेत औषधिको प्रयोग गरिँदै आइएको उनले बताए।
फाउन्डेसनको सहयोगमा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेट्र्रो भाइरल थेरापी क्लिनिकका संयोजकसमेत रहनुभएका सापकोटाका अनुसार जिल्लामा हाल एक हजार दुई सय १३ सङ्क्रमितले एन्टी रेट्रो भाइरल औषधि सेवन गर्दै आएका छन् । उनीहरुमध्ये पाँच सय ९२ पुरुष, पाँच सय ६८ महिला, ३३ बालबालिका र २० जना तेस्रोलिङ्गी रहेका छन् । सन् २०२४ मा जिल्लाका विभिन्न स्थानमा गरिएको एचआइभी परीक्षणमा ७५ जना नयाँ सङ्क्रमित भेटिएको सापकोटाले सुनाए । उनका अनुसार, “सन् २०२४ यता तीन सय ९६ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।”
यस वर्ष जिल्लामा नयाँ भेटिएका र बाहिरबाट स्थानान्तरण भएर आएका गरी एक सय ५१ नयाँ सङ्क्रमितले औषधि सुरु गरेका छन् । यहाँ नियमित औषधि सेवन गर्ने मध्ये ३० जना स्थानान्तरण भएका छन् । बाह्र जना सङ्क्रमितले नियमित औषधि सेवन गर्न छाडेको सापकोटाले जनाए ।
तपाईको प्रतिक्रिया दिनुहोस