राहत र पुनःनिर्माण प्रभावकारी बनाउः उपमहासचिव हरिबोल गजुरेल
पाँचथर, ५ कात्तिकः नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पुर्याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ ।
गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित स्थल निरीक्षण पछि आज फिदिममा पत्रकारसँग कुराकानी गर्दै गजुरेलले प्रभावित जनताको जीवनयापन सहज बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए । “यस पटक बाढीपहिरोले जनताको कुनै धनमाल र जग्गाजमिन बाँकी नराखेको देखियो । यसमा सरकारका तर्फबाट प्रभावकारी राहत प्याकेज ल्याइनुपर्छ”, उहाँले भन्नुभयो, “परम्परागत राहत वितरणले प्रभावित जनताको जीवन रक्षा हुन नसक्ने देखियो ।”
उपमहासचिव गजुरेलले बाढी पहिरोले गरेको क्षति हेरेपछि मन नअडिने अवस्था रहेको बताउनुभयो । पाँचथरमा विसं २०७८, ०८० र यस वर्ष निरन्तर बाढी पहिरोले क्षति गरेकाले सरकारले विशेष रुपमा सम्बोधन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।
पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्त कुमार नेम्बाङ अस्वस्थ भई आवाज उठाउन नसक्ने भएको तथा पाँचथर बाट सङ्घीय संसद्मा अन्य प्रतिनिधि नरहनु भएकाले यहाँको आवाज सङ्घीय सरकारले नसुनेको अनुभूति भएको उहाँको धारणा थियो । “यसैका लागि बाढी पहिरोले गरेको क्षतिको अवस्था हेर्न हामी आएका हौँ”, उहाँले भन्नुभयो ।
पाँचथरमा धेरै सडक पुल निर्माण, बस्ती स्थानान्तरणको आवश्यकता देखिएकाले सरकार गम्भीर भइ आवश्यक पहल थाल्नुपर्ने नेता गजुरेलको भनाइ छ ।
उनले विपद्बाट प्रभावित यहाँका स्थानीय तह फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिका लाई ‘ख’ र ‘ग’ वर्गमा नभइ ‘क’ वर्गमा राख्न माग गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस