जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता
रासस
काठमाडौँ, २९ असोज : अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनक्राँग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष थ्यान सुइजन नेतृत्वको चिनियाँ टोली बीच आज दिउँसो जेनेभामा भेटवार्ता भएको हो । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय अभ्यास, अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आयामबारे चर्चा गर्दै नेपाल सदैव चीनको असल छिमेकीका रुपमा रहने बताउनुभयो । दुई देशबीच राजनीतिक सम्बन्ध मात्रै नभई जनस्तर मै सामाजिक, सांस्कृतिक सम्बन्ध मजबुत रहेको अध्यक्ष दाहालले बताउनुभयो ।
सन् २०२२ मा चिनियाँ जनक्राँग्रेसका तत्कालीन अध्यक्षले नेपाल भ्रमण गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले दुई देशबीचका संसद्को सहकार्यले एक अर्काका अनुभव आदानप्रदान हुनुका साथै असल अभ्यास सिक्ने अवसर पनि हुने बताउनुभयो ।
नेपालको विकासमा चीनको सहयोग रहँदै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझैँ सहयोगको मात्रा बढ्ने आफूले विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सन् २०२६ मा कम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्य लिएको छ । यस लक्ष्यलाई दिगो, अपरिवर्तनीय र सहज बनाउन मित्र राष्ट्रको सहयोग र सद्भाव हाम्रो प्राथमिकतामा रहेको छ । यसमा चीनको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीलाई विश्वास छ ।”
दुई देशबीच आपसी हितका विषयमा क्षेत्रीय र बहुपक्षीय मञ्चमा सहकार्य भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख समिति उपाध्यक्ष तियान सुइजनले चिनियाँ राष्ट्रिय जनक्राँग्रेस र नेपालको संसद्सँग विभिन्न क्षेत्रमा सहकार्य गर्न र संसदीय मैत्री समूह मार्फत् सम्बन्ध विस्तार गर्न चाहेको बताउनुभयो । दुई देशका संसद्बीचको सहकार्य, भ्रमण आदानप्रदान र अवलोकनले संसदीय अभ्यास, परम्परा र प्रक्रिया बुझ्न सहज हुने र दुई देशको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने बताउनुभयो ।
चीनले नेपाललाई आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सहयोग गर्न कुनै कसर बाँकी नराख्दै भन्दै उपाध्यक्ष थ्यानले बिआरआइ मार्फत् सडक, रेल्वे लगायतका पूर्वाधार विकासका योजनामा सहयोग गर्न चाहेको बताउनुभयो । भेटमा दुवै देशका प्रतिनिधि मण्डलमा सहभागी सांसद तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस