नेपालमा मनसुन सकियो चिसोको बढ्दो प्रभाव, तापक्रममा तीव्र गिरावट
काठमाडौं, असोज २९ः नेपालभर बाट मनसुन बाहिरिए सँगै देशका अधिकांश भागमा तापक्रम घट्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २७ गते नेपालमा यस वर्षको मनसुन पूर्ण रूपमा समाप्त भएको छ।
यसपछि पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसममा बदली र हल्का वर्षा भइरहे पनि तापक्रम घट्दै चिसो मौसम सुरु भएको छ।
मौसमविद्हरूका अनुसार, मनसुन सकिएपछि पोष्ट-मनसुन अवधिमा पश्चिमी वायुको प्रभावले गर्दा मुलुकका विभिन्न क्षेत्र विशेषगरी पहाडी भूभागमा मौसममा आंशिक बदली भइरहने र तापक्रम क्रमिक रूपमा घट्दै जाने गर्दछ। काठमाडौं उपत्यकामा विशेषगरी पछिल्लो एक हप्तामा चिसोको प्रभाव बढिरहेको छ। असोज १५ मा काठमाडौँको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस थियो, जुन हाल घटेर १७ डिग्री हाराहारीमा पुगेको छ।
महाशाखाको विवरण अनुसार, आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियससम्म झरेको थियो। सोमबार यो तापक्रम १७ डिग्री रहेको बताइएको छ। उपत्यका मात्रै नभई देशका धेरैजसो स्थानमा पछिल्लो दुई हप्तामा ५ डिग्रीसम्म तापक्रममा गिरावट आएको छ, जसले देशभर चिसो मौसमको संकेत दिएको छ।
महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी प्रदेश, मधेस, र बागमती प्रदेशमा आंशिक प्रभाव रहेको जनाएको छ। यसैगरी स्थानीय वायुको पनि आंशिक प्रभाव रहेका कारण कतिपय स्थानमा मौसममा आंशिक बदली भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। यसैगरी रातिको समयमा पनि कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।
पोष्ट-मनसुनको आगमनसँगै तापक्रम घट्न थालेकाले स्वास्थ्यमा ध्यान दिन र विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। चिसो बढ्दै जाने सम्भावना भएकाले विशेषगरी बालबालिका, वृद्धवृद्धा, र दीर्घ रोगीहरूलाई चिसोबाट जोगाउन उचित तयारी गर्न महाशाखाले सुझाव दिएको छ।
#WeatherUpdate
तपाईको प्रतिक्रिया दिनुहोस