बाढीले फोक्सिङटार पुल बगाएपछि झोलुङ्गे पुल मर्मत
यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मत कार्यलाई तीव्रता दिइएको छ।

यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मत कार्यलाई तीव्रता दिइएको छ। पूर्वी तराईका विभिन्न जिल्लाहरूलाई जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि आवतजावतको विकल्पका रूपमा जिल्लाका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत थालिएको हो।
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसीस्थित बङ्शिलाघाट, धाप्लाङघाट र भण्डारेघाटमा जडान गरिएका झोलुङ्गे पुलमा बाढीले क्षति पुर्याएको थियो। दसैँको टीकाअघि तीनवटै घाटको झोलुङ्गे पुल पुनःसञ्चालनमा ल्याउने उद्देश्यले मर्मत कार्यलाई तीव्रता दिइएको स्थानीय प्रतिनिधिहरूले बताएका छन्।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे र उदयपुरको रौतामाई गाउँपालिका-३ चनौटेस्थित सुनकोसी नदीको भण्डारेघाटको झोलुङ्गे पुल पनि मर्मत गरी पुनःसञ्चालनमा ल्याइसकेको जानकारी दिइएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले एक लाख ४५ हजार रुपैयाँ उपलब्ध गराएपछि आवश्यक सामग्री खरिद गरेर मर्मत कार्य सम्पन्न गरिएको हो।
तराईका जिल्लाहरूलाई जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारस्थित मोटरेबल पक्की पुलको विकल्पमा भण्डारेघाटको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए।
“हाम्रो दैनिकीसँग जोडिएको फोक्सिङ्टार पुल बाढीले बगाएपछि तराईसँगको सिधा सम्पर्क विच्छेद भएको छ। यो जिल्लावासीका लागि ठूलो क्षति हो," उनले भने, “फोक्सिङ्टार पुलका कारण निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानीमा ठूलो असर परेको छ। यसमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ।”
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारको पुल सञ्चालनमा आएको दुई वर्ष नबित्दै बाढीले बगाएपछि पूर्वी तराईसँगको सिधा सम्पर्क विच्छेद भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटारलाई जोड्ने आर्क डिजाइनको मोटरेबल पुल पनि बगाएपछि यातायात सम्पर्क टुटेको हो।
धाप्लाङघाटमा मोटरेबल पक्की पुलको योजना ठेकेदारको लापरवाहीका कारण अलपत्र रहेको छ। विसं २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेको यो पुल अहिलेसम्म निर्माण हुन सकेको छैन।
निर्माण लिएको पुलको पिलर नदीको पानीले जग कटान गर्दै गएपछि बाङ्शिलाको छ। विसं २०७६ मा बनिसक्नुपर्ने मोटरेबल पुलको दुवैतर्फ पिलर मात्र ठड्याइएको थियो।
निर्माणाधीन मोटरेबल पक्की पुलको काम अलपत्र हुँदा खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका-१४ साउने जोड्ने धाप्लाङघाटको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए।
“बाढीले पुलको लठ्ठा चुँडिदिएपछि ठाउँठाउँमा भ्वाङ परेर आवजावत गर्न सकिँदैन भएको थियो। गाउँपालिकाले तारजाली उपलब्ध गरायो,” उनले भने। “स्थानीयवासीले मर्मत गरेर पुनःसञ्चालनमा ल्याएका छन् र अहिले मोटरबाइकसमेत आवतजावत गर्न मिल्ने भएको छ।”
जन्तेढुङ्गा गाउँपालिका-१ रमिते र उदयपुर जोड्ने सुनकोसी नदीकै मैनाटार, ऐँसेलुखर्क गाउँपालिका-४ जलेश्वरीस्थित कम्फुघाट र खोटाङ र उदयपुरलाई जोड्ने बङ्शिलाघाटका झोलुङ्गे पुलहरूमा पनि मर्मत कार्य भइरहेको छ।
मर्मत कार्य भइरहेको तीनवटै ठाउँका झोलुङ्गे पुल दसैँको टीकाभन्दा अगाडि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ।
चाडपर्वको पूर्वसन्ध्यामा आएको अविरल वर्षापछिको बाढी र पहिरोका कारण अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएका छैनन्। तर, मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्ड भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ।
सडक अवरुद्ध भएपछि यात्रामा रहेका यात्रुहरू सडकमै अलपत्र परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए। अवरुद्ध सडक खुलाउन मध्यपहाडी लोकमार्ग र सम्बन्धित स्थानीय तहले मेसिन प्रयोग गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस