बीपी राजमार्गमा सवारी सञ्चालन एक हप्ताभित्र सुचारु हुनेछ: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्को कारण अवरुद्ध बीपी राजमार्गमा सवारी सञ्चालनको व्यवस्था हुने बताएका छन्।

गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्को कारण अवरुद्ध बीपी राजमार्गमा सवारी सञ्चालनको व्यवस्था हुने बताएका छन्।
आज बिहान बाढी र पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट क्षेत्रमा निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण बीपी राजमार्गमा भएको क्षतिलाई अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेनाले प्रयास गरिरहेको जानकारी दिएका छन्।
“बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्जनसहित सवारी सञ्चालन हुनेछ,” उनले भने। “यहाँका अवरुद्ध भित्री सडक सञ्चालन र पुल निर्माणमा सेनाको ठूलो भूमिका देखिएको छ।”
विपद्को पीडालाई सम्बोधन गर्न सरकार तत्पर रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
“यो समस्यामा कहाँ जानु, के गर्नु भन्ने नसोच्नुहोस्,” उनले भने। “सरकार भनेको सबैको अभिभावक हो।”
गृहमन्त्री लेखकले तीन वटै सरकार, सबै राजनीतिक दल, र गैरसरकारी संस्थाहरू मिलेर विपद्पछिको समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।
तस्बिरमा, उनले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन पनि आग्रह गरे। सिन्धुली, सिन्धुपाल्चोक, र ललितपुरका केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राइ, र प्रधानसेनापति अशोकराज सिग्देलको टोली बाढी र पहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेको छ।
यसअघि गृहमन्त्री लेखकले काभ्रेपलाञ्चोक र ललितपुरको गोदावरी क्षेत्रमा प्रभावित स्थलको अनुगमन पनि गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस