निजामती सेवामा गुल्मी अग्रस्थानमा
पछिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै निजामती सेवामा प्रवेश गर्ने कर्मचारीहरू गुल्मी जिल्लाबाट रहेका छन्। कुल १०४ जनाले लोकसेवा पास गरेर स्थायी जागिर प्राप्त गरेका छन्। गुल्मीपछि स्याङ्जाबाट १०२, सर्लाहीबाट ९१, धनुषाबाट ७८, र कञ्चनपुरबाट ७३ जना निजामती सेवामा प्रवेश गरेका छन्।
लोकसेवा आयोगकी प्रवक्ता गीता कुमारी होमेगाइँका अनुसार, गत वर्षमा २ हजार ६८८ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए, जसमा ७४४ महिला र १ हजार ९४४ पुरुष रहेका छन्। सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २९ वर्ष रहेको छ।
सर्लाही जिल्लाबाट सबैभन्दा धेरै १८ हजार ३२८ दरखास्त परेको छ, जबकि मनाङ र मुस्ताङजस्ता जिल्लाबाट न्यून दरखास्त परेको देखिएको छ। आयोगले प्रकाशित १ हजार ४५५ विज्ञापनमध्ये २४ विज्ञापनमा कुनै पनि दरखास्त नपरेको जनाइएको छ।
लोकसेवा परीक्षामा कुल १ लाख २२ हजार १५३ उम्मेदवार सम्मिलित भएका थिए। परीक्षामा अनियमित क्रियाकलाप गर्ने ९ जना कारबाहीमा परेका छन्। आयोगले विभिन्न सेवा निकायहरूबाट रिक्त पदपूर्तिका लागि ३६६० पदका लागि विज्ञापन प्रकाशन गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस