महानगरले पठायो ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र

काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँको जरिवाना तिर्नका लागि पत्र पठाएको छ ।
शुक्रबारको प्रदर्शनको क्रममा तीनकुने र कोटेश्वर लगायतका क्षेत्रहरूमा सार्वजनिक संरचना जलाइएको, भत्काइएको र महानगरको दमकलमा ढुंगामुडा गरिएको घटनाका आधारमा महानगरपालिकाले उक्त क्षतिको मूल्याङकन गरेको हो ।
महानगर स्रोतका अनुसार, तीनकुने र कोटेश्वर क्षेत्रको सडक र पेटीमा जथाभावी फोहोरमैली गरि वातावरण प्रदूषण गर्ने आरोपमा पूर्वराजा शाहलाई १ लाख रुपैयाँको जरिवाना गरिएको छ। यसै गरी, दमकल र अग्निनियन्त्रकहरूमा ढुंगामुडा गरी क्षति पुर्याएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
तीनकुने क्षेत्रमा भएको वातावरण प्रदूषणको कारण १ लाख रुपैयाँको थप जरिवाना, बालकुमारी र जडिबुटी सडक क्षेत्रको फोहोरमैलो वातावरण प्रदूषणका कारण १ लाख रुपैयाँको जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।
सार्वजनिक सम्पत्तिको क्षति सम्बन्धी अर्को मूल्याङकनमा तीनकुने क्षेत्रमा रहेका रुख बिरुवा र रेलिङ भत्काउनका लागि ४० हजार र आइल्याण्डमा तोडफोड गरेबापत २३ हजार रुपैयाँको जरिवाना तोकिएको छ ।
महानगरपालिकाले यी सबै जरिवाना पत्रहरू निर्मल निवासमा पठाइसकेको जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस