दुर्गाथलीको टावरमा विद्युत जडान सँगै बादल लाग्ने वित्तिकै नेटवर्क जाने समस्या समाधान
बझाङ्गको दुर्गाथली गाउँपालिकाको वडा नं. २, मष्टामाडुमा रहेको नेपाल टेलिकमको टावरमा राष्ट्रिय प्रशारण लाईनको विद्युत हिजो जडान गरिको छ । विगत ७ वर्ष देखि सोलाट प्यानबाट चलिरहेको टावर दिउँसो मात्र काम गर्ने, फोन गर्ने घर बाहिर आउनु पर्ने बेलुका ६ बजे देखि फोनको टावर नआउने समस्याले गर्दा बझाङ्गको दुर्गाथली गाउँपालिका, थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकाका जनताहरुले सास्ति व्यहोर्नुपरेको थियो ।
देशमा कोरोना भाइरसका कारण लकडाउन भैरहदाँ विद्यार्थीहरुका लागि इन्टरनेट अति आवश्यक थियो। तर, मष्टामाडुको टावरले घाम लागेको दिन मात्र इन्टरनेट चल्ने भएकाले विद्यार्थीहरु लाई पनि मर्का परिरहेको थियो । हिजो बाट टावरमा विद्युत जडान भएपछि २४ घण्टा नेटवर्क आउने भएको छ । बादल लाग्ने वित्तिकै जनताहरुले सम्पर्क विच्चेद हुनुपर्ने वाध्यता हटेको छ ।
स्थानीय तहको निर्वाचन भएको २०७४ देखिन नै मष्टामाडु टावरमा विद्युतजडान गर्ने भनिएपनि काम हुन सकेको थिएन । अहिले पालिकाको टिमको लगातारको पहल र दुर्गाथली गाउँपालिकाले बजेट विनियोजन गरेर नेपाल विद्युत प्राधिकरण बझाङ्ग शाखाले ठेक्का प्रक्रिया मार्फत टावरमा विद्युत जडान भएको हो ।
लामो समय देखि जनताहरुले टावरको समस्याले गर्दा मर्कामा थिए, विद्यार्थीहरुले इन्टरनेट चलाउन समस्या रहेको थियो पालिकाको पहलमा विद्युत जडान भए सँगै नेटवर्कको समस्या हल भएको दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताएका छन् । उनले भने “अब नेपाल टेलिकम सँग संवाद गरेर फोरजीको स्पिड स्तरोन्नतीका लागि फेरी म पहल गर्छु । फोरजीको स्पिड बढाउने वित्तिकै आम विद्यार्थीहरुले घर बाटै लोकसेवा लगायतका कक्षाहरु लिन पनि सहज हुने छ । यसका लागि म तत्काल पहल गर्ने छु।”
तपाईको प्रतिक्रिया दिनुहोस