Techie IT

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगर प्रमुखबीच भेटवार्ता


नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यबीच आज भेटवार्ता भएको छ । पहिलो पटक पोखरा आउनु भएकी राजदूत कार्टेभाल र नगरप्रमुख आचार्यबीच दुईपक्षीय हितका विषयमा छलफल भएको हो । 

अन्नपूर्र्ण हिमाल आरोहणको ७५औँ वर्षका अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल केन्द्रित भएको नगर प्रमुख आचार्यले बताए । 

उनका अनुसार भेटमा राजदूत कोर्टेभालले सन् २०२५ मा हिमाल आरोहणको ७५औँ वर्ष गाँठमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने फ्रान्सेली सरकारको चाहाना रहेको बताएका छन् । 

फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरी विश्वमा पर्वतारोहणको इतिहासको थालनी गरेका थिए । हर्जोगले आफ्ना सहयात्री लुई लिचेनेलसँग सन् १९५० जुन ३ मा अन्नपूर्र्ण प्रथमको पहिलो पटक सफल आरोहण गरेका थिए ।
    
अन्नपूर्ण हिमालको सफाइ अभियानमा सहकार्य गर्ने, पोखराको भौगर्भिक परीक्षण (जियोलोजिकल सर्भे)का लागि प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्ने, फ्रान्सको पर्यटकीय सहर र पोखराका बीचमा मितेरी सम्बन्ध स्थापना गर्ने, फोहर प्रशोधन तथा व्यवस्थापन परियोजनामा सहकार्य गर्ने र दुईपक्षीय पर्यटन प्रवर्द्धन तथा विकासमा सहकार्य गर्ने लगायत विषयमा छलफल भएको थियो ।

भेटमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको समेत सहभागिता थियो । महानगर फ्रान्स सरकारसँग अन्नपूर्ण सफाइ अभियानदेखि समग्र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न तयार रहेको नगरप्रमुख आचार्यले बताएका छन् ।     
    
आजै जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीसँग महानगरप्रमुख आचार्यको भेटवार्ता भएको महानगरपालिका कार्यालयले जनाएको छ । भेटमा पोखरा र जापानका बीचमा लामो समयदेखि श्रम तथा प्रविधिको आदानप्रदान, पोखरामा जापान सरकारको तर्फबाट सञ्चालित परियोजना र उपलब्धि लगायत विषयमा छलफल भएको थियो ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट