वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा
किबी बेचेर आफूले हालसम्म रु दुई लाख आर्जन गरेको थापाले बताएका छन् ।
बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती आवद्ध भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका थापाले किबीखेती शुरु गरेका छन् ।
तीन वर्षअघि किबीखेती थाल्नुभएको थापालाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बन्नुभएका उनले यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताए । उनले किबीसँगै कागती पनि फलाएका छन् ।
जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताए । वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् ।
दैलेखबाट रु तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाए । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको सुनाए ।
हाल स्थानीय बजारमा प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु दुई लाख आर्जन गरेको थापाले बताएका छन् ।
गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियो भने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए ।
अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस