हनुमाननगर नगरपालिकामा लगाइएको ताला एक महिनापछि खुल्यो
हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार एक महिनापछि आज ताला खुलाइएको हो ।
गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका–५ का अशोककुमार यादवले बताए ।
राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबान पीडितले नगरका वडा नं ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा समेत तालाबन्दी गरिएको थियो । जसले सम्पूर्ण कामकाज ठप्प भई जनजीवन प्रभावित बनेको थियो ।
आजदेखि वडा कार्यालय र नगरपालिकाको सेवा सुरु गर्दै १० दिनभित्र नगर सभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्ने समेत सहमति भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस