झापाको उन्नति सहकारीमा एमाले सांसदका पुत्र सुमन खनालले गरे डेढ करोड ठगी
प्रतिवेदनमा खनालको ठगीबाट आर्थिक वर्ष २०७९-८० सम्ममा सहकारीलाई झन्डै १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिएको छ।
झापा जिल्लाको शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थामा ठगीको गम्भीर घटना सार्वजनिक भएको छ। सहकारीका अध्यक्ष सुमन खनालले संस्थाका बचतकर्ता र सेयर सदस्यहरूको झन्डै डेढ करोड रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। खनालले १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको प्रमाणित भएसँगै पीडितहरूले नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका छन्।
सुमन खनाल झापा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन्। २०७९ साल मंसिरमा भएको निर्वाचन अघि उनका पिता राधाकृष्ण खनालले छोराले गरेको अनियमितताको जिम्मेवारी लिँदै रकम फिर्ता गर्ने वाचा गर्दै आफूलाई जिताउन सर्वसाधारणलाई अपिल गरेका थिए। उनले चुनावी भाषणमा भनेका थिए, "तपाईंहरूको पैसा डुब्दैन, मलाई जिताउनुहोस्, पैसा म फिर्ता गर्छु।"
तर, निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि पीडितहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन्। यस कारण पीडितहरूले नगरपालिकाको सहकारी शाखामा औपचारिक उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयलाई छानबिन गर्न सिफारिस गरिएको शाखा अधिकृत बद्री दाहालले जानकारी दिए।
सिफारिस भएपछि खनाल फरार भएका छन्, र उनका सम्पर्क नम्बरहरू बन्द रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार घटना छानबिनको क्रममा छ र चाँडै नै यसबारे परिणाम आउनेछ। प्रहरी उपरीक्षक केसीले भने, "२२ दिन अघि उजुरी परेको हो, छानबिन भइरहेको छ, केही दिनपछि हामी नतिजा सार्वजनिक गर्छौं।"
सहकारीको लेखा समिति संयोजक सुमन कटुवालले पनि आफू ठगीमा परेको बताए। उनले भने, "मेरो पनि ११ लाखभन्दा बढी रकम डुबेको छ। म लेखा समिति संयोजक हुँ, तर म आफैं ठगीमा परेको छु।"
उक्त सहकारीको लेखा समितिद्वारा गठित छानबिन समितिले खनालको ठगी धन्दाको विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार, खनालले बिना भौचर रकम निकालेको, सेयर सदस्यहरूको रकम हिनामिना गरेको, र कर्जा लगानीको नाममा फर्जी नामको प्रयोग गरेको देखिएको छ। आर्थिक वर्ष २०७८-७९ र २०७९-८० मा खनालले विभिन्न हिसाबले सहकारीको रकम व्यक्तिगत रूपमा चलाएको पुष्टि भएको छ।
खनालले सहकारीमा ४२ लाख नगद हिनामिना गरेको र विभिन्न कर्जाहरू फर्जी व्यक्तिहरूको नाममा चलाएर ठगी गरेको प्रतिवेदनमा उल्लेख छ। खनालले बचतकर्ता र सेयर सदस्यहरूलाई विभिन्न बहानामा रकम फिर्ता गर्ने आश्वासन दिए पनि हालसम्म त्यो सम्भव हुन सकेको छैन।
प्रतिवेदनमा खनालको ठगीबाट आर्थिक वर्ष २०७९-८० सम्ममा सहकारीलाई झन्डै १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिएको छ। यसमा खनालले आफ्नो नाममा सेयर र बचत खाता गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको तथ्य उल्लेख छ, तर सहकारीले अझै पनि १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ फिर्ता पाउनुपर्ने ठहर गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस