परराष्ट्रमन्त्री डा. आरजु देउवा र अमेरिकी उपविदेशमन्त्री उर्जा जियाबीच भेटवार्ता
वासिङ्टन डिसी, अमेरिका — नेपालको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र, र मानवअधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छिन्। यो भेटवार्ता सोमबार संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा भएको हो।
भेटको क्रममा नेपाल र अमेरिका बीचको आपसी हितका विविध विषयमा छलफल भएको थियो। साथै, शान्ति प्रक्रियाको प्रगति, मानवअधिकारका मुद्दाहरू, र प्रजातन्त्रको संरक्षणमा दुई देशबीचको सहयोगका विषयमा पनि गहन विचारविमर्श भएको जनाइएको छ।
परराष्ट्रमन्त्री डा. राणाले नेपालले सधैं शान्ति, मानवअधिकार, र प्रजातन्त्रको पक्षमा दृढ अडान राख्दै आएको उल्लेख गर्दै नेपालमा हालै पारित गरिएको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको बारेमा अमेरिकी पक्षलाई जानकारी गराइन्।
उपविदेशमन्त्री जियासँगको भेटमा डा. राणाले नेपालको शान्ति प्रक्रिया अघि बढिरहेको र पीडितमैत्री न्याय कानुनलाई नेपालले प्राथमिकतामा राख्दै आएको बताइन्। उनले शान्ति प्रक्रियाका बाँकी रहेका कार्यहरूलाई छिट्टै टुङ्ग्याइने जानकारी पनि गराइन्।
भेटवार्तामा अमेरिका र नेपालको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि विविध क्षेत्रहरूमा सम्भाव्य सहकार्यका बारेमा पनि छलफल भएको बताइएको छ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेकी परराष्ट्रमन्त्री डा. राणा यस भेटवार्ताका क्रममा शान्ति प्रक्रियाका मुद्दाहरू, दिगो विकास, र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका सम्बन्धमा समेत कुराकानी गरेकी थिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस