अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्रीबीच भेटवार्ता
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच बेइजिङस्थित ग्रेट हलमा विशेष भेटवार्ता सम्पन्न भएको छ। भेटको क्रममा उपप्रधानमन्त्री पौडेलले चीनले नेपाललाई प्रदान गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा नेपाललाई थप भौतिक पूर्वाधार, आर्थिक समृद्धि र मानवीय विकासका क्षेत्रमा सहयोग गर्न चीन सरकारलाई आग्रह गरे।
पौडेलले नेपालले आफ्नो आर्थिक विकासमा चीनले हासिल गरेको अनुभव र सफलताबाट लाभान्वित हुनुपर्ने विचार व्यक्त गरे। विशेषगरी पूर्वाधार विकास, गरिबी निवारण, र दीगो आर्थिक वृद्धिमा चीनको अनुभव नेपालका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले दुई देशबीचको सहयोगलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए।
चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्ले नेपालले पछिल्लो समय हासिल गरेको राजनीतिक स्थिरता र प्रगतिप्रति उच्च प्रशंसा गर्दै नेपालको आर्थिक विकासका प्रयासमा चीनले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा भएका सहमति र समझदारीहरूलाई कार्यान्वयन गर्न चीनले उच्च प्राथमिकता दिएको जानकारी दिए। दिङले नेपाललाई चीनको दीर्घकालीन साझेदारका रूपमा हेरिएको र दुवै देशबीचको आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने आश्वासन पनि दिए।
यसै सन्दर्भमा उपप्रधानमन्त्री पौडेलले चाईना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (CIDCA) का अध्यक्ष लुओ चाओहुसँग पनि भेटवार्ता गरेका थिए। उनले नेपालको विकासमा CIDCA को योगदानको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सहयोग कायम रहने विश्वास व्यक्त गरे। यस भेटवार्ताले नेपाल र चीनबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस