पाटन नगरपालिकामा महिलाको स्वास्थ्य अवस्था चिन्ताजनक, ५० प्रतिशतमा पिआइडी

बैतडी । जिल्लास्थित ग्रामीण क्षेत्रका महिलामा प्रजनन प्रणालीमा सङ्क्रमण अर्थात पिआइडी समस्या देखिएको छ । पाटन नगरपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सहभागी भएका अधिकांश महिलामा उक्त समस्या देखिएको हो ।
पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको शिविरमा उपचारमा आएकामध्ये ५० प्रतिशत महिलामा पिआइडी समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टले बताए ।
तीनै ठाउँमा झन्डै ५०० महिलाले सेवा लिएका र तीमध्ये आधामा उक्त समस्या देखिएको हो । उनले भने, “शिविरमा आएर जाँच गर्दा महिलामा पिआइडीको समस्या देखियो र उनीहरूको उपचार गरिएको छ । पाठेघरमा मासु पलाउनु, हर्मोनको गडबडी र असुरक्षित यौन सम्पर्कलगायत कारणले प्रजनन प्रणालीमा सङ्क्रमणको समस्या देखिने गर्दछ ।”
यस्तै शिविरमा उपचारका लागि आएकामध्ये २५ प्रतिशत महिलामा पाठेघरबाट असमान्य रूपमा रक्तश्राव हुने समस्या देखिएको छ । पाठेघरमा मासु पलाउने, हार्माेन गडबडीलगायत कारणले यस्तो समस्या देखिने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । असमान्य रूपमा रक्तश्राव हुने समस्या देखिएका चार जनालाई सुविधासम्पन्न अस्पातलमा उपचारका लागि रेफर गरिएको छ भने दुई जनामा क्यान्सरको आशङ्का गरिएकाले उनीहरूलाई पनि थप उपचारका लागि रेफर गरिएको भट्टले बताए ।
यसका साथै शिविरमा आएकामध्ये पाँच प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । तीमध्ये तीन जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने अन्यलाई रिङ पेसरी राखेर उपचार गरिएको छ ।
गर्भावस्थामा गह्रौँ भारी बोक्नु, सुत्केरी भएको समयमा गह्रौँ भारी बोक्नु, जन्मान्तर कम हुनुलगायत कारणले महिलामा पाठेघर खस्ने समस्या आउने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । शिविरमा आएका १५ प्रतिशतमा महिलामा पिसाब नलीको सङ्क्रमण देखिएको छ । सरसफाइको कमी, पानी कम पिउनुलगायत कारणले उनीहरूमा यो समस्या देखिएको बताइएको छ ।
त्यसैगरी, शिविरमा आएकामध्ये १० प्रतिशतमा ग्यास्ट्रिकको समस्या देखिएको छ । समयमा खाना नखानु, खाली पेटमा दूध चिया पिउनु, भोको बस्नुलगायत कारणले ग्यास्ट्रिकको समस्या बल्झिने गरेको डा नीता तिमिल्सिनाले बताएकी छन् । शिविरमा उपचारका लागि आएका महिलाको अल्ट्रासाउण्ड गर्दा केहीमा पत्थरीको समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा सुरेशबहादुर विष्टले बताए । यस्तो समस्या देखिएकालाई प्रशस्त मात्रामा पानी पिउनुपर्ने सुझाव दिएका थिए ।
गाउँघरकै स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकबाट सेवा पाएपछि स्थानीय नागरिकलाई सहज भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । उनले भने, “दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन शिविर आयोजना गरेका हौँ । यो शिविरले केही हदसम्म महिलालाई सहयोग पुगेको र आगामी दिनमा पनि शिविरका लागि पहल गरिनेछ ।”
पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र वसन्तपुर स्वास्थ्यचौकीमा उक्त शविर सञ्चालन भएको थियो । शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा नीता तिमिल्सिना, डा रेजिना खड्का, डा सुरेशबहादुर विष्टलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस