स्रोत र साधनले भ्याएसम्म भूकम्पपीडितलाई सहयोग जारी छ

अछाम । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिका पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएका छन् ।
अछाम जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना भएको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको आज उद्घाटन गर्दै उहाँले स्रोत र साधनले भ्याएसम्म सरकारले भूकम्पपीडितलाई सहयोग गरिरहेको बताए ।
गत वर्षको कात्तिकमा भएको भूकम्पबाट प्रभावित भएकालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको उक्त एकाइले अछाम, बाजुरा र डोटीका नागरिकलाई सघाउने छ ।
नवस्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मतससम्भारका काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै लाभग्राहीलाई द्रुत सेवा प्रवाह गर्न उनले प्रमुख जिल्ला अधिकारीलगायत सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिए ।
भूकम्पबाट क्षति भएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राहीलाई आवास पुनर्निर्माणअन्तर्गत पहिलो किस्ता बापत प्रतिघर रु ५० हजार प्रदान गरिएको छ । एकाइ स्थापनासँगै लाभग्राहीलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख भीष्मकुमार भुसाल, प्रदेशसभा सदस्य मानबहादुर रावल, तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए ।
जाजरकोट भूकम्पमा परी एक सय ५७ जनाले ज्यान गुमाएका थिएभने तीन सय ७५ जना घाइते भएका थिए । विसं २०७९ कात्तिकमा २३ गते बिहान डोटीको पूर्वीचौकी गाउँपालिका ३ को गैरगाउँ केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्प भएको थियो ।
उक्त भूकम्पमा उक्त गाउँका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते हुनु भएको थियो। डोटीका नौवटा स्थानीय तहबाट ५४१ वटा निजी आवास पूर्ण रुपमा क्षति भएका र चारहजार एक हजार ४६ घरहमा आंशिक क्षति भएको छ थियो । त्यस्तै ४७ विद्यालय, आठ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक संपदामा पनि क्षति भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस