बागलुङमा चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी...

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्ष मात्रै ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यान समेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो ।
निसीखोलामा घरमै हुने सुत्केरीको संख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा २१३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क संकलनमै समस्या छ ।
अझैपनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोर जस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुनेगरेको पाइएको छ ।
अशिक्षा, गरिबी र भौगोलिक विकटताका कारण निसीखोलामा होमडेलीभरी पछिल्लो समय चुनौती बन्दै आएको निसीखोला स्वास्थ्य शाखाले जनाएको छ । जनचेतनामुलक कार्यक्रम गरिरहेको पालिकाले सबै भर्गवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन नसकेको स्वास्थ्य शाखा प्रमुख जुनी घर्ती मगरले जानकारी दिएकी छन् ।
“घरमै सुत्केरी हुनेको संख्या दुर्गमका तीन गाउँमा बढी पाइएको छ”, प्रमुख घर्ती मगरले भनिन् “तथ्याङ्कमा गत वर्ष ८ जना घरमै सुत्केरी भएको पाइन्छ, चालु आर्थिक वर्षमा समेत सात जना घरमै सुत्केरी भएका छन्, घुम्ती गोठमै सुत्केरी भएका समेत छन् ।”
गत आर्थिक वर्षमा निसीखोला गाउँपालिकामा २१३ जना संस्थागत सुत्केरी भएका थिए । बागलुङको अधिकांश स्थानीय तह शुन्य होम डेलीभरी उन्मुख रहेका छन् । निसीखोला गाउँपालिकामा भने घरमै सुत्केरीलाई मुख्य समस्याको रूपमा लिइएको छ । यहाँको दुर–दराजमा अझैपनि अस्पतालको पहुँचमा आउन नचाहने, अशिक्षा, गरिबी लगायतका कारण घरमै सुत्केरी हुने गरेको पाइएको छ । घरमै सुत्केरी हुने महिला अधिकांश दलित समुदायका रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताइन् ।
मगरका अनुसार बालबिबाह र घरमै सुत्केरी निसीखोलाको चुनौतीको विषय रहेको छ । उनिहरू अस्पताल आउनै नमान्ने, गर्भवती भएको जानकारी नदिने र महिला स्वास्थ्य संयंसेविकालाई ढाँट्ने गर्दछन् । निसीखोला गाउँपालिका–६ चुसिवाङ गाउँमा मात्रै १२ आमा मध्ये ६ आमा घरमै सुत्केरी भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेवीका मनिमला घर्तीले जानकारी दिनुभयो । उहाँले घरमै सुत्केरी हुनेमध्ये न्यून आय भएका तथा दलित समुदायका महिला बढी छन् ।
“चेतना भयो भनेत स्वास्थ्य संस्थामा सुविधा थियो, उहाँहरूले गर्भवती भएको जानकारीनै गराउन चाहानुहुन्न, परिवारको समेत सहयोग हुँदैन, त्यसमाथी बालबिबाह हुन्छ”, प्रमुख घर्तीले भन्नुभयो “घुम्ती बसाईकाकारण खर्कमा जाने महिलाहरूले उत्तै सुत्केरी भएर आउँछन्, गाउँपालिका र स्वास्थ्य कार्यालयले जनचेतना फैलाउन थालेको छ, खासगरी गर्भवती भएपछि सम्पर्कमा आए त्यसपछिको खोजी हामीले र स्वास्थ्य संस्थाले गर्दथ्यौ, तर कतिपयले जानकारी गराउनै मान्नुहुन्न ।”
निसीखोला गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा संस्थागत सुत्केरी भएका २१३ मध्ये ५८ सुत्केरी २० वर्षभन्दा मुनीका भेटिएका छन् । यस्तै चालु आर्थिक वर्षमा समेत १८ जना २० वर्ष भन्दा मुनीकाले बच्चा जन्माइसकेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालबिबाहलाई लुकाउन समेत संस्थागत सुत्केरी हुन नचाहने गाउँपालिकामा रहेका छन् ।
नवजात शिशुलाई उपयुक्त पोषणको समेत अभाव भएको अध्ययनमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मी शर्मा बताउनुहुन्छ । घरमै सुत्केरीको चुनौती बागलुङका १० पालिका मध्ये निसीखोला प्रमुख रहेको छ ।
बागलुङको बरेङ गाउँपालिका र तमानखोला गाउँपालिकाले शुन्य होम डेलीभरी उन्मुख स्थानीय तह निर्माणमा जुटेको जनाएका छन् । चार नगरपालिकामा भने होम डेलीभरीको तथ्याङ्क कमै आउने गरेको शर्माको भनाई छ । गर्भवती भएपछि स्वास्थ्य स्वयंसेवीकालाई जानकारी गराउन नसक्दा तथ्याङ्क संकलन हुँन नसकेको शर्माको भनाई छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले निसीखोला जस्तो दुर्गम गाउँलाई मध्यनजर गर्दै पोषण सचेतनाको कार्यक्रमलाई तिब्रता दिइएको स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस