काभ्रेपलाञ्चोकका ९२ विद्यालय बाढीपहिरोले क्षतिग्रस्त, पठनपाठन ठप्प
काभ्रेपलाञ्चोक - गत सातादेखिको अविरल वर्षाले काभ्रेपलाञ्चोक जिल्लामा बाढीपहिरोको विनाशकारी प्रभाव परेको छ। यसबाट कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ। जिल्लाका १३ स्थानीय तहहरूमध्ये ११ तहका विद्यालयहरूमा बाढीपहिरोले व्यापक असर पारेको जिल्ला शिक्षा एकाइले जनाएको छ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोले विद्यालयमा भौतिक संरचना ध्वस्त हुँदा यी विद्यालयहरू पूर्ण रूपमा बन्द भएका छन्। अर्को सूचना जारी नहुँदासम्म क्षतिग्रस्त विद्यालयमा पठनपाठन नगर्ने निर्णय गरिएको छ।
क्षतिग्रस्त विद्यालयहरूको विवरण
जिल्ला शिक्षा एकाइ प्रमुख देवकी ढकालका अनुसार पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १० र तेमाल गाउँपालिकामा सात विद्यालयमा क्षति पुगेको छ। त्यस्तै, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा १४, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालय बाढीपहिरोबाट प्रभावित भएका छन्।
सबैभन्दा बढी क्षति रोशी, पनौती र बेथानचोकका विद्यालयहरूमा भएको छ। “रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्, जसले गर्दा ती विद्यालय तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था छैन,” एकाइ प्रमुख ढकालले बताइन्।
विद्यार्थीको ज्यान गुमाउनुपरेको पीडा
बाढीपहिरोले केही विद्यार्थीको ज्यान पनि लिएको छ। पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेलमा एकजना विद्यार्थीले बाढीपहिरोका कारण ज्यान गुमाएका छन्।
रोशी गाउँपालिकाको मङ्गल जनविजय माध्यमिक विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रधानाध्यापक बासु थापाका अनुसार, विद्यालय पुनःनिर्माण गर्न दुई करोड रुपैयाँको आवश्यक पर्नेछ। सरकारले काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली, महाभारत गाउँपालिका, पनौती, नमोबुद्ध, र मण्डनदेउपुर नगरपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। बाढीपहिरोले घरबारविहीन बनेका परिवारहरूलाई स्थानीय तहले राहत प्रदान गरिरहेको छ।
बाढीपहिरोमा परी जिल्लामा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने पाँच जना अझै बेपत्ता छन्। जिल्लामा विभिन्न सडक अवरुद्ध भइ यातायात सेवा ठप्प हुँदा र प्रभावित क्षेत्रमा विद्युत् र सञ्चारको सुविधा पनि ठप्प भएपछि थप कठिनाइको सामना गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस