Techie IT
२०८२ वैशाख १५, सोमबार

शिक्षक आन्दोलनको शान्तिपूर्ण समाधानको लागि सांसदहरूको ध्यानाकर्षण


काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनलाई सम्बोधन गर्न सांसदहरूले सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा भएको झडपप्रति दुःख व्यक्त गर्दै अभद्र व्यवहार तत्काल रोक्न माग गरे ।

सांसदहरूले विद्यालय शिक्षा ऐन पारित गरी शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउने आवश्यकतामा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट सरकारले शिक्षकहरूको जायज माग पूरा गर्न तदारुकता देखाउनुपर्ने धारणा व्यक्त गरियो। आन्दोलनमा प्रहरीद्वारा पानीको फोहोरा र लाठी प्रहार हुँदा दर्जनौँ शिक्षक घाइते भएकोप्रति घोर भर्त्सना गर्दै, सरकार र शिक्षकबीच भएको विगतको सम्झौता कार्यान्वयन गर्न माग गरियो ।

त्यस्तै, माओवादी केन्द्रकै छिरिङ डम्डुल लामाले हुम्लामा हालैको बाढीले भएको क्षतिको राहत तथा पुनःस्थापनाको माग गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित माग तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरिन् । उनले आन्दोलनका कारण बालबालिका विद्यालय शिक्षाबाट बञ्चित भइरहेको बताउँदै, चाँडै समाधान खोज्न आग्रह गरिन्। साथै, पत्रकारमाथि भएको आक्रमणको पनि निन्दा गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले शिक्षकहरूमाथि भएको दमनप्रति दुःख व्यक्त गर्दै, शिक्षक र पत्रकार दुवैप्रति भएको हिंसाको निन्दा गरे। साथै, आवासीय चिकित्सकहरूको माग पनि चाँडै सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रहरी र शिक्षक दुवै राष्ट्रसेवक भएको उल्लेख गर्दै, कुनै पनि पक्षबाट दमन स्वीकार्य नहुने बताए । उनले शिक्षकलाई संयमित आन्दोलन र सुरक्षाकर्मीलाई पनि संयमित प्रस्तुतिमा आग्रह गरे। साथै, विद्यालय शिक्षा ऐनको प्रगतिबारे शिक्षामन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग गरे ।

आम जनता पार्टीका सांसद प्रभु साहले मधेस प्रदेशमा हावाहुरी र असिनाले कृषिमा पारेको क्षति तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको उल्लेख गर्दै, पीडित किसानलाई राहत र सेवा पुनः सञ्चालनको माग गरे ।

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको विद्यालय व्यवस्थापन सुधारमा ध्यान दिन आग्रह गरे । सांसद रणेन्द्र बरालीले शिक्षकको माग सम्बोधन र दलितमाथि भइरहेको भेदभाव अन्त्य गर्न माग गरे। सांसद कान्तिका सेजुवालले आन्दोलनमा घाइते शिक्षक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट