विद्यार्थीलाई रोक्न पाठ्यपुस्तक वितरण गर्दैं सिद्धेश्वर मावि

विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण गरेको छ ।
जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माविले विश्व पुस्तक दिवसका अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक गरेको हो । शैक्षिक सत्र सुरु भएको डेढ हप्ताभन्दा बढी भइसके पनि शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियान सञ्चालन हुन सकेको छैन । यसले विद्यार्थीको पढाइ बिग्रने चिन्तासहित पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताएका छन् ।
शैक्षिक सत्र २०८१ मा सोही विद्यालयमा अध्ययनरत तथा कक्षा उत्तीर्ण भएका बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिएको हो । शिक्षक महासङ्घको आन्दोलनका कारण लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत छ जना विद्यार्थी निजी विद्यालयमा भर्ना भइसकेका छन् ।
निजी विद्यालयहरुले गाउँगाउँ पुगेर सरकारी विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न थालेपछि कार्यालय सहयोगी, निजी शिक्षक, नगर स्वयंसेवक शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको अध्यक्ष भाटले जानकारी दिए । “शिक्षकका केही मागमा हामीले समर्थन गरेका छौँ, २१ दिनसम्म सहयोग गरिएको हो”, उनले भने, “अब विद्यालयलाई समस्या भएको छ, विद्यार्थी पलायन रोक्नका लागि र उनीहरू स्वअध्यनका लागि भए पनि किताब वितरण गरेका हौँ ।”
यही वैशाख १५ गतेदेखि विद्यालयमा उपलब्ध जनशक्तिबाट नियमित पठनपाठन सञ्चालन गर्ने तयारीसमेत भइरहेको व्यवस्थापन समितिका अध्यक्ष भाटले जानकारी बताउनुभयो । शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान लगायत शैक्षिक गतिविधि प्रभावित बनेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस