कति भयो सर्लाही भन्सारमा राजस्व सङ्कलन ?

सर्लाही । जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल रु ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिएका छन् । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए ।
भन्सारबाट हाल सङ्कलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् रु चार करोड ९४ लाख ४१ हजार ५५५ सङ्कलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३.७१ प्रतिशत अर्थात् रु दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् रु दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व सङ्कलन भएको छ भने कात्तिकमा ९०.९३ प्रतिशत रु चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत रु छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् रु छ करोड ७९ लाख नौ हजार ६०१ सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कानुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् रु पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् रु चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् रु तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए । यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको उनले बताएका छन् ।
यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छभने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस