तीन स्थानमा आगलागी, करिब २४ लाख रुपैयाँ बराबरको क्षति

देशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै आगलागी घटनामा करिब २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।
उदयपुरको कटारी नगरपालिका–१४, भदौरे बेशी टोलमा बस्ने सुर्य बहादुर मगरको घर र दुईवटा गोठमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२३ ताजपुर टोलमा बस्ने ५२ वर्षीय खलिल मियाको गोठघरमा गए राति विद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–८, टोखा गाउँस्थित कञ्चनजंगा सामुदायिक वनमा मंगलबार दिउँसो लागेको डढेलो फैलिएर बीर बहादुर मगरको घर, गोठ तथा स्थानीय बाल विकास विद्यालयमा समेत आगलागी हुँदा करिब १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेको छ ।
प्रहरीका अनुसार सबै घटनामा मानवीय क्षति नभए तापनि ठूलो आर्थिक क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस