प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा

दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार आज दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो । “प्लाईको कच्चा वस्तु भएकाले कोट्याउँदा धुँवा निस्के पनि आगो नियन्त्रणमा ल्याइएको छ”, उनले भने, “अब जोखिम छैन ।”
आगो नियन्त्रणमा आइसकेकाले बाहिरी जिल्लाबाट आएका दमकल पनि फिर्ता पठाइसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रूपन्देहीको दमकललाई पठाइसकिएको छ ।
आइतबार बिहान करिब २ बजेतिर आगलागी भएको थियो तर, लामो समयसम्म आगो नियन्त्रण हुन नसकेपछि चौतर्फी आलोचना पनि भएको थियो ।
आगलागीबाट भएको क्षतिको विवरण भने अझै आएको छैन । प्लाई उद्योगमा रहेका सबै मेसिन, कच्चा वस्तु जलेर नष्ट भएका छन् । सोही उद्योगमा पाँच सय बढी कर्मचारीले काम गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस