Techie IT

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजाआराधना, तीन ताप हटाउने देवीको रूप


काठमाडौं - नवरात्रको चौथो दिन आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन, दसैँघर वा पूजा कोठामा नवदुर्गामध्ये चौथी देवी कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गरिँदैछ। कुष्माण्डा देवीलाई तीन ताप – आध्यात्मिक, आधिभौतिक र आधिदैविक – हटाउने शक्ति प्राप्त भएकैले 'कुष्मा' भनिएको छ। 

धार्मिक मान्यताअनुसार, कुष्माण्डा देवी सुरा र रगतले भरिएका पात्र धारण गर्ने तथा भक्तहरूको त्रास र ताप हटाउने देवीका रूपमा पूजिन्छिन्।शास्त्रीय वचनका आधारमा, देवी कुष्माण्डाले सम्पूर्ण संसारको तापलाई आफ्नो गर्भमा समेटेर धारण गरेकी छन्। ‘दुर्गा सप्तशती’ (चण्डी) मा उनलाई त्रिविध तापयुक्त संसारलाई आफ्नो पेटमा धारण गर्ने भगवतीका रूपमा चित्रण गरिएको छ।

नवरात्रको पूजाविधि

नवरात्रको पहिलो दिन वैदिक विधिअनुसार असोज १७ गते बिहीबार घटस्थापना गरी जमरा राखिएको थियो, जसको साथमा पहिलो देवी शैलपुत्रीको पूजा सम्पन्न भएको थियो। त्यसपछि दोस्रो दिन ब्रह्मचारिणी देवी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाआराधना विधिपूर्वक गरिएको थियो। 

आज चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना हुँदैछ। नवरात्रभर नौ दुर्गाका विभिन्न रूपहरूको पूजा गर्ने शास्त्रीय विधान रहेको छ। पञ्चमीमा स्कन्दमाता, षष्ठीमा कात्यायनी, सप्तमीमा कालरात्रि, अष्टमीमा महागौरी र नवमीमा सिद्धिदात्रीको पूजा गरिन्छ।

शक्तिपीठहरूमा भक्तजनको भीड

नवरात्रको अवसरमा भक्तजनको भीड देशभरका शक्तिपीठमा देखिन्छ। काठमाडौंका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायतका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्दछ। यसैगरी, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, इच्छाकामना, गढीमाई, बागलुङ कालिका, विन्ध्यवासिनी, मनकामना, छिन्नमस्ता, तालबाराहीलगायतका शक्तिपीठहरूमा पनि भक्तजनहरूको ठूलो उपस्थिति देखिन्छ।

नवरात्रमा दुर्गा देवीको पूजा गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद ग्रहण गर्ने परम्परा छ। यस पर्वमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्ने वैदिक सनातन धर्मावलम्बीहरूका लागि नवरात्र शक्तिपूजाको महापर्वका रूपमा हर्षोल्लासका साथ मनाइन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट