स्विफ्टको समर्थन ह्यारिसका लागि बलियो हतियार
अमेरिकी गायिका टेलर स्विफ्टले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गर्ने घोषणा गर्दै अमेरिकी राजनीतिक परिदृश्यमा ठूलो हलचल ल्याएकी छिन्। सेप्टेम्बर १० मा फिलाडेल्फियास्थित ‘नेसनल कन्स्टिट्युसन सेन्टर’मा सम्पन्न राष्ट्रपतीय बहसपछि स्विफ्टले आफ्नो इन्स्टाग्राममार्फत ह्यारिसलाई समर्थन गर्ने सार्वजनिक आह्वान गरिन्। स्विफ्टको यो कदमले सामाजिक सञ्जालमा मात्रै होइन, अमेरिकी राजनीतिमा व्यापक प्रभाव पारेको छ।
स्विफ्टले इन्स्टाग्राममा बिरालो बोकेको एक तस्वीर राख्दै, “म कमला ह्यारिसलाई समर्थन गर्छु, किनभने उनी हाम्रो अधिकारका पक्षमा उभिएकी छन्। उनी अटल, निश्चल, र प्रतिभाशाली नेता हुन्। मलाई विश्वास छ– यो मुलुकले शान्त नेतृत्वबाट लाभ लिनसक्छ, अराजकताबाट होइन,” भनेर क्याप्सन लेखिन्। स्विफ्टको यो समर्थन ह्यारिसका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ, विशेषगरी उनले अमेरिकी युवापुस्तामा निकै ठूलो प्रभाव पारेकी छिन्।
स्विफ्टको घोषणासँगै सामाजिक सञ्जालमा ह्यारिसको चुनावी अभियानप्रति समर्थन बढ्न थालेको छ। ‘स्विफ्टिज’ नामक स्विफ्टका फ्यानहरूले ह्यारिसको लागि रकम जुटाउनसमेत सक्रियता देखाएका छन्। सेप्टेम्बर ११ मा प्रकाशित ‘द गार्जियन’को रिपोर्टअनुसार, स्विफ्टको समर्थनपछि ह्यारिसको चुनावी अभियानका लागि १ लाख ५० हजार डलरभन्दा बढी रकम संकलन भएको छ। स्विफ्टका प्रसंशकले ‘स्विफ्टिज’ संस्था बनाएर ह्यारिसको लागि निरन्तर सहयोग जुटाउने काम गरिरहेका छन्।
टेलर स्विफ्टको ह्यारिसप्रतिको समर्थनले अमेरिकी चुनावमा सेलेब्रिटीहरूको प्रभाव पुनः चर्चामा ल्याएको छ। अमेरिकी इतिहासमा सेलेब्रिटीहरूद्वारा राजनीतिक उम्मेदवारहरूलाई समर्थन गर्ने परम्परा नयाँ होइन। १९२० मा रिपब्लिकन उम्मेदवार वारेन हार्डिङलाई समर्थन गर्दै चर्चित अभिनेता अल जोल्सन र मेरी पिकफोर्डले आफ्नो समर्थन जनाएका थिए। जोल्सनले हार्डिङको पक्षमा गीतसमेत बनाए, जसले चुनावी माहोललाई नै प्रभावित गर्यो।
यस्तै, १९६० मा विश्व प्रसिद्ध गायक फ्र्यांक सिनाट्राले जोन एफ. केनेडीको समर्थनमा उत्रिँदै आफ्नो सांगीतिक कार्यक्रममार्फत उनलाई अमेरिकी राष्ट्रपतिको रूपमा चिनाए। सिनाट्राले केनेडीको चुनावी अभियानमा गाएको ‘हाई होप्स’ गीत निकै चर्चित भएको थियो।
सेलेब्रिटीहरूको समर्थनले राष्ट्रपतिको चुनावी परिणाममा कसरी फरक पार्न सक्छ भन्ने प्रमाण सन् २००८ मा देखियो, जब ओप्रा विन्फ्रेले बाराक ओबामालाई समर्थन गरिन्। क्रेग गर्थवेट र टिमोथी मुरको सन् २०१३ मा गरिएको अनुसन्धानअनुसार, ओप्राको समर्थनले ओबामालाई १० लाख थप मतदाताको समर्थन जुटाउन सहयोग पुर्यायो।
स्विफ्टको प्रभाव र ह्यारिसलाई फाइदा
टेलर स्विफ्टको समर्थन ह्यारिसका लागि थप महत्त्वपूर्ण यसकारण छ कि उनी अमेरिकी नयाँ पुस्तामा विन्फ्रेको भन्दा ठूलो प्रभाव राख्छिन्। ‘फोर्ब्स’ले सन् २०२३ मा गरेको सर्वेक्षणअनुसार, ५३ प्रतिशत अमेरिकी तन्नेरी स्विफ्टका फ्यान छन्, जसमध्ये १६ प्रतिशतले उनलाई अत्यधिक मन पराउँछन् भने ४४ प्रतिशतले आफूलाई स्विफ्टको फ्यान क्लब ‘स्विफ्टिज’को सदस्य मान्छन्।
यसकारण, स्विफ्टको समर्थनले ह्यारिसको अभियानमा ठूलो उर्जा थपेको छ। ‘स्विफ्टिज’का सदस्यहरूले स्विफ्टको समर्थनसँगै ह्यारिसको लागि चन्दा संकलन अभियान सुरु गरेका छन्। सेप्टेम्बर ११ मा मात्रै ह्यारिसको लागि १ लाख ५० हजार डलर संकलन भएको ‘द गार्जियन’को रिपोर्टले देखाएको छ।
सन् २०२३ मा स्विफ्टले इन्स्टाग्राममार्फत अमेरिकी युवालाई ‘भोट डट ओआरजी’मा आफ्नो नाम दर्ता गर्न आह्वान गरेकी थिइन्। उनको यो एक मात्र आह्वानले एक घण्टामै ३५ हजार नयाँ मतदाता दर्ता भएका थिए।
हार्वर्ड विश्वविद्यालयको ‘एस सेन्टर फर डेमोक्रेटिक गभर्नेन्स एन्ड इनोभेसन’ले समेत सेलेब्रिटीहरूको भूमिका नागरिक सहभागिता बढाउन महत्त्वपूर्ण हुने निष्कर्ष निकालेको छ। उक्त अध्ययनमा भनिएको छ, “केही सर्वेक्षणले मानिसहरू सेलेब्रिटीहरूको आह्वानबाट प्रभावित नहुने बताउँछन्, तर सशक्त प्रमाणहरूले के देखाउँछन् भने, सेलेब्रिटीहरूको आवाज निकै प्रभावशाली हुन्छ।”
ट्रम्प र सेलेब्रिटीको समर्थन
डोनाल्ड ट्रम्पलाई पनि केही सेलेब्रिटीले समर्थन गरेका छन्। अमेरिकन गायक निक्की जामले ट्रम्पलाई समर्थनको घोषणा गरे पनि, ट्रम्पले उनलाई चिनेका थिएनन्, जसले ट्रम्पको अभियानमा नकारात्मक असर पुर्यायो। लस भेगासमा भएको एक कार्यक्रममा ट्रम्पले जामलाई महिला ठानेर सम्बोधन गरेपछि यो घटना मजाकको विषय बन्यो। जामले पछि इन्स्टाग्रामबाट ट्रम्पलाई समर्थन गर्ने भिडियो समेत हटाएका थिए।
(विभिन्न एजेन्सीको सहयोगमा) #USElection2024
तपाईको प्रतिक्रिया दिनुहोस