Techie IT

प्याज बिरुवा उत्पादनबाट मनग्ये आम्दानी


पाल्पा, रामपुर – रामपुर नगरपालिका–३ गण्डकीढिकका किसान गोविन्दप्रसाद दुवाडीले एक सिजनमा प्याजका बिरुवा बेचेर रु १ लाख ५० हजार भन्दा बढीको आम्दानी गर्दै आएका छन्। 

विगत २८ वर्षदेखि प्याजका बिरुवा उत्पादन गर्दै आएका दुवाडी गाउँमा असल बिरुवा उत्पादकका रूपमा परिचित छन्। कालीगण्डकी करिडोरको सडक किनारमा रहेको करिब एक रोपनी जग्गामा उनले प्याज, बन्दा, काउली, र ब्रोकाउली लगायतका बिरुवाहरू उत्पादन गर्दै आइरहेका छन्।

दुवाडीका अनुसार प्याजका बिरुवा उत्पादन गर्न समय कम लाग्ने र लगानी पनि न्यून हुने हुँदा यस व्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ। उनका बिरुवाहरू काठमाडौं, पोखरा, नारायणगढ, बुटवल लगायतका विभिन्न शहरमा बिक्री हुने गरेका छन्। “यहाँका ग्राहकले आफूलाई चाहिएको सबै जातका बिरुवा एकै ठाउँमा पाउने भएकाले उनीहरूका लागि पनि यो सुविधाजनक छ,” दुवाडीले भने।

प्याजका अतिरिक्त, उनले ग्राहकको मागअनुसार बन्दा, काउली, र ब्रोकाउलीको बिरुवाहरू पनि उत्पादन सुरु गरेका छन्। प्याजका बिरुवा प्रति तीनवटा रु १ मा, काउली प्रति बिरुवा रु ५ मा, हाइब्रिड बन्दा प्रति रु ५, र ब्रोकाउली प्रति रु १० मा बिक्री भइरहेको छ। यस व्यवसायबाट हरेक वर्ष उनको आय बढ्दै गएको र बिरुवा उमार्ने जग्गा पनि क्रमशः विस्तार हुँदै गएको उनले जानकारी दिए।

दुवाडीको बिरुवा उत्पादन व्यवसायमा श्रीमती मतिकला दुवाडीले पनि उत्तिकै साथ दिँदै आइरहेकी छन्। यात्रा गर्नेहरूले गाडी रोकेर बिरुवा खरिद गर्ने हुँदा बिक्री व्यवस्थापनमा केही चुनौती भए पनि ग्राहकको प्रतिक्रिया उत्साहजनक रहेको उनले बताइन्।

यस्तै, रामपुर–६ की राधिका बस्यालले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार गरी बिरुवा उत्पादन गर्दै एक सिजनमा रु १ लाख बढीको आम्दानी गर्दै आएकी छन्। घर–घरमा बिरुवा रोप्ने चलन बढेकाले बिरुवाको माग उच्च भएको र बजारको समस्या नभएको उनले बताइन्।

रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले हाल किसानहरूमा बिरुवा उत्पादन प्रति आकर्षण बढिरहेको र यसमा शाखाले प्राविधिक सहयोग तथा तालिममार्फत सहयोग पुर्याउने जानकारी दिएका छन्। बिरुवा उत्पादनमार्फत छोटो समयमै राम्रो आम्दानी लीन सकिने हुँदा यस क्षेत्रमा किसानहरूको रुचि बढिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट