कुरीतिविरुद्ध धर्ममुचुल्का गराउने महागुरु फाल्गुनन्द
किराँत धर्मका महागुरु फाल्गुनन्दले ९३ वर्ष अघि सामाजिक कुरीति र विकृतिहरू हटाउने उद्देश्यले काटमार, मांसाहार र मदिरा सेवन गर्न नहुने 'धर्ममुचुल्का' जारी गरेका थिए। स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइअनुसार, महागुरुले यस्ता प्रथाहरूको विरोध गर्दै समाज सुधारको लागि महत्त्वपूर्ण कदम चाल्नु भएको थियो ।
आज, महागुरु फाल्गुनन्दको एक सय ४०औं जन्मजयन्ती विविध कार्यक्रमहरूको साथ मनाइँदैछ। उहाँको योगदानलाई सम्मान गर्दै सरकारले २०६६ साल मङ्सिर १६ गते उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
महागुरुको जन्म १९४२ सालको कात्तिक २५ गते इलामको माङ्सेबुङ गाउँपालिका–२ इभाङको चुम्चिनाम्बामा भएको थियो। उहाँको निधन २००५ सालको चैत २२ गते पाँचथरको इम्बुङमा भएको हो।
महागुरु फाल्गुनन्द अत्यन्त गरिब परिवारमा जन्मिएका थिए। उहाँ आठ वर्षको उमेरमा नै ज्ञानी र ध्यानी भइ, बेलायती सेनामा 'फाल्गुनन्द' नामबाट भर्ती भएर केही वर्ष काम गरे। युद्धप्रति वितृष्णा जागेर उहाँले सेनाको जागिर त्यागेर अहिंसा र किराँत धर्मको प्रचार गर्न सुरू गर्नुभयो। नेपाल, भारत र भूटानसम्म पुगेर उहाँले धर्मको प्रचार गर्नुभयो।
महागुरुको योगदान भनेको मात्र धर्म प्रचार गर्न नभइ, समाज सुधारका लागि 'सत्य हाङ्मा मुचुल्का' जस्ता महत्वपूर्ण कदम चाल्नु थियो। १९८८ सालको वैशाख २५ गते पाँचथरको लेब्रेकुटीमा उहाँले दश लिम्बू र १७ थुम्का अगुवा व्यक्तिहरूसँग मिलेर 'सत्य हाङ्मा मुचुल्का' जारी गर्नुभयो।
यसमा मांसाहार र मदिरा सेवन नगर्ने, छोरीलाई समान शिक्षा र अधिकार दिने, विवाह संस्कारमा मासुको सट्टा फलफूल प्रयोग गर्ने जस्ता सामाजिक सुधारका सन्देशहरू समावेश थिए। यस मुचुल्कालाई धार्मिक सन्देशको रूपमा मानिन्छ र आज पनि समाजमा प्रचलित छ।
महागुरु फाल्गुनन्दले महिलालाई समान अधिकार र सम्मान दिने महत्त्वपूर्ण सन्देश दिएको भन्दै उहाँको योगदानलाई लैंगिक समानताका लागि उल्लेखनीय मानिन्छ। किराँत समाजमा महिला सशक्तिकरणको अवस्था आज पनि सराहनीय छ।
महागुरुको योगदानलाई सम्मान गर्दै सरकारले २०५० सालमा उहाँको हुलाक टिकट प्रकाशित गरेको थियो। साथै, २०७२ सालदेखि फाल्गुनन्द जयन्तीका अवसरमा किराँत धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने गरिएको छ।
विभिन्न स्थानहरूमा, जस्तै झापाको दमक, इलामको माङ्सेबुङ, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङ लगायतका स्थानहरूमा फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा र विविध कार्यक्रमहरू आयोजना गरिन्छ।
महागुरु फाल्गुनन्दको धार्मिक सन्देश र योगदानलाई विश्वभर फैलाउने कार्यमा उहाँका नाति धर्मगुरु आत्मानन्द लिङ्देन सक्रिय रूपमा लागिपरेका छन्। उहाँले माङ्हिम नामक धार्मिक स्थलको स्थापना गरेर किराँत धार्मिक स्थानका रूपमा प्रख्यात बनाएका छन्।
महागुरु फाल्गुनन्दको जीवन र योगदानले नेपाली समाजमा गहिरो प्रभाव पारेको छ। उहाँले समाज सुधार, धर्म र संस्कृतिको उत्थान तथा संरक्षणका लागि गरेको कार्यहरूको प्रभाव अहिले पनि समाजमा महत्त्वपूर्ण रूपमा रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस