Techie IT

तरकारी खेतीबाट बस्यालको परिवारले वार्षिक सात लाख आम्दानी


रामपुर नगरपालिका–६, प्याक्लुककी गङ्गा बस्यालले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आएका छन्। विसं २०७२ मा करिब १२ रोपनी क्षेत्रफलमा खेती सुरु गरेका बस्यालले अहिले आलु, काउली, बन्दा, र गोलभेँडा लगायतका तरकारी उत्पादन गर्दै स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।

पहिले रामपुरको ग्रामीण बजारमा तरकारीले बजार नपाउने चिन्ताका बीच बस्यालले व्यवसायिक खेतीमा जोखिम लिए । अहिले स्थानीय बजारमा माग बढेसँगै तरकारी बिक्रीबाट घर खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन गर्न सफल भएका छन् ।

बस्यालले १२ रोपनीमा व्यावसायिक खेती गरिरहेका छन् । जसमा १० रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिई १० वर्षका लागि लगानी गरेका छन् । तरकारी बिक्रीको राम्रो आम्दानीले बस्यालको परिवारको जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ। बस्यालले भविष्यमा यो व्यवसाय आयआर्जनको बलियो माध्यम बनाउने योजना रहेको बताए ।

उनको व्यवसायमा श्रीमती राधिका बस्यालको पनि सक्रिय सहभागिता रहेको छ। गङ्गा र राधिकाको सफलताले गाउँका अन्य कृषकहरूलाई पनि प्रेरित गरेको छ, जसले गर्दा वरिपरिका बारीहरू हरिया तरकारीले भरिन थालेका छन्। 

बस्याल परिवारले साग, मुला, धनिया, आलु र काँक्रा समेत उत्पादन गर्न थालेका छन्। गत भदौमा काँक्राबाट मात्रै रु एक लाख आम्दानी भएपछि व्यवसायप्रति झन् उत्साहित भएका उनीहरूले मौसमी तथा बेमौसमी तरकारीका बिरुवा उत्पादनसमेत सुरु गरेका छन्।

रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेका अनुसार स्थानीय किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहित गर्न तालिम, बिउबिजन, उपकरण, तथा प्राविधिक सेवा उपलब्ध गराउँदै आएको छ। यहाँको बजार बढ्दै गएपछि निर्वाहमुखी खेती गर्दै आएका किसानहरू पनि व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट