काठमाडौँमा ५४ वर्षयताकै सर्वाधिक वर्षा

काठमाडौँ – उपत्यकामा शनिबार ५४ वर्षयताकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, सन् १९७० देखि वर्षा मापन गर्न थालिएयता काठमाडौँमा यस्तो रेकर्ड कायम भएको हो। त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा शनिबार बिहान ८:४५ बजेसम्म २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ, जसले पुरानो रेकर्ड (सन् २००२ मा १७७ मिलिमिटर) लाई तोडेको छ।
मौसमविद् गोविन्द झाले यसलाई ऐतिहासिक वर्षा भएको बताउँदै उपत्यकाका ९ वटा वर्षा मापन केन्द्रहरूमा रेकर्ड तोडिएको जनाएका छन्। उदाहरणका लागि, बुढानीलकण्ठमा २००७ को १५९ मिलिमिटर वर्षाको रेकर्डलाई शनिबारको १८७.३ मिलिमिटर वर्षाले पार गरेको छ। यस्तै, ललितपुरको चापागाउँमा सन् २००२ मा २००.५ मिलिमिटर मापन भएकोमा यस पटक ३२३ मिलिमिटर वर्षा भएको छ।
वर्षा शुक्रबार बिहानदेखि सुरु भई शनिबार अपरान्हसम्म जारी रह्यो, जसको कारण उपत्यकाका नदीहरूमा बाढी आएको छ र सडकहरू जलमग्न भएका छन्। बाढी, पहिरो र डुबानका घटनाहरूले उपत्यकामा मात्रै ३४ जनाको ज्यान लिइसकेको छ भने देशभर मृत्यु हुनेको संख्या ६६ पुगेको छ। थप ७९ जना अझै बेपत्ता छन्।
विभागका अनुसार, शुक्रबार देशभरका २२२ वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो, जसमा ७७ स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। धेरै स्थानमा बाढी, पहिरो र सडक भासिनेजस्ता घटनाहरू भएका छन्। मौसमविद् झाले आइतबारबाट मौसममा क्रमिक सुधार हुने बताए पनि केही क्षेत्रमा अझै भारी वर्षा जारी रहेको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस