Techie IT
२०८१ चैत्र २०, बुधबार

वसन्तकालीन हिमाल आरोहण अनुमति खुला, सगरमाथाका लागि तयारी तीव्र


यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।     

हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताएका छन्  । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”, उनले भने, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।” 

सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो । 

यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । 

सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट