‘धनबुबा परीक्षित नरसिंह राणा’ पुस्तक सार्वजनिक

पूर्वप्रशासक परीक्षित नरसिंह राणाको जीवनीमा आधारित ‘धनबुबा परीक्षित नरसिंह राणा’ नामक पुस्तक सार्वजनिक गरिएको छ । आज आयोजित कार्यक्रममा उनकी धर्मपत्नी कोकिला राणाले उक्त पुस्तक सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो प्रेरणाको स्रोत परीक्षित नरसिंह राणा रहेको बताएका थिए । उनले पुस्तकबाट नैतिकता, आदर्शजस्ता कुरा युवापुस्ताले सिक्ने बताए । उनले राणाले नै सञ्चयकोषलाई अहिलेको अवस्थामा पुर्याएको उल्लेख गर्दै सञ्चयकोषलाई बैंकमा रुपान्तरण गर्न खोजेको र त्यतिबेला राष्ट्रिय वाणिज्य बैंक स्थापना भएपछि उनको योजना पूरा हुन नसकेको बताएका थिए ।
कार्यक्रममा पुस्तकबारे समीक्षा गर्दै पत्रकार भीम घिमिरेले पुस्तकमा उल्लेख गरिएका कुराले राणा शासनको इतिहास सरल भाषामा बुझ्न सकिने बताए । उनले राणा राजनीतिक दलका नेतासँग नडराउने निडर प्रशासक रहेको बताएका थिए ।
साहित्यकार विमल भौकाजीले राणा परिवारको भएर पनि उहाँ नेपाल प्रजा परिषद्मा आवद्ध भएको बताए । “उहाँ राणा परिवारको भए पनि सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीसँग प्रजा परिषद्को पक्षमा हिँड्नुभएको थियो”, उनले भने, “उहाँलाई गोली हान्ने तयारी गरिएको बेला कसैले राणा परिवारको व्यक्ति भनेपछि बच्नुभएको थियो । त्यसपछि गोरखा पठाइयो ।”
पुस्तकका सम्पादक डा करनबहादुर शाहले परीक्षित नरसिंह राणाको जीवनीबाट इमान्दारी सिक्न सकिने बताए । विभिन्न पाँच अध्यायमा ४० जनाले उनका बारेमा लेख्नुभएको छ । पुस्तकका समीक्षक डा कपिल लोहनीले इमान्दारी कमी भएको बेला प्रकाशन भएको उनको जीवनीले नयाँ पुस्तालाई इमान्दारी के हो भनेर सिकाउने बताए ।
विसं १९७३ मा जन्मिएका राणा अर्थ मन्त्रालयमा अधिकृत तहको सरकारी सेवामा प्रवेश गरेर २०३२ सालमा लोकसेवा आयोगको सचिवबाट निवृत्त हुनुभएको थियो । उहाँको २०४७ सालमा निधन भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस