Techie IT
२०८१ चैत्र २६, मंगलबार

भक्तपुरमा मल्लकालीन पारिवारिक संरचना झल्काउने नवदुर्गा देवगणको ‘ङालाकेगु’ जात्रा


भक्तपुर, २५ चैत — भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेगु’ (माछा मार्ने) जात्रा मल्लकालीन नेवार समाजको संयुक्त पारिवारिक संरचना, तान्त्रिक परम्परा र सामाजिक मूल्य–मान्यतासँग सम्बन्धित जीवित सांस्कृतिक सम्पदा हो ।

इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, यो तान्त्रिक विधियुक्त नाचले मल्लकालीन समयको संयुक्त परिवार, पारिवारिक मर्यादा, ठूला–सानाको सम्मान, रीतिरिवाज, खानपिन, वेशभूषा तथा नेवार समुदायमा ‘नंकी’ (घरमूली) को प्रमुख भूमिकालाई चित्रण गर्छ ।

तान्त्रिक साधनाद्वारा देवत्व प्रवेश
मानव शरीरमा देवत्व प्रतिष्ठा गरेर, संवाद होइन भाव र संकेतद्वारा प्रस्तुत हुने यो नाचमा १३ वटा देवताहरू — भैरव, महाकाली, बाराही, ब्रह्मयणी, महेश्वरी, कुमारी, भद्रकाली, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव र सिम्हदुम्ह (नन्दीभृंगी) — को नृत्य गरिन्छ। यसमा थप १९ जनाको बाजा र पात्रहरूको समूह रहन्छ। खप्परबाट रगत थाप्ने महापात्र त्रिपुरासुन्दरीको प्रतीक मानिन्छ ।

सांस्कृतिक सन्देश बोकेको परम्परागत नाच
प्रत्येक नाचले एक सामाजिक सन्देश दिन्छ — भैरवनाथ नाचले बलि प्रणाली, परिवार संरचना, चेलीबेटीको अवस्था झल्काउँछ भने कुमारीको तुलेगु (विलाप) नाचले नारिहरूप्रतिको बेवास्ता दर्शाउँछ। भद्रकालीको नाचले कृषि र आत्मनिर्भरताको प्रतीक हो भने महाकालीको नाचले शक्ति, क्रोध र न्याय प्रस्तुत गर्छ ।

बाराही नाचले महिलाको गृहकार्य, संस्कार, व्यवहारिक सीप झल्काउँछ। सिम्हदुम्हले भीमसेन र द्रौपदीको प्रतिनिधित्व गर्दै श्रीमान–श्रीमतीबीचको व्यवहारिक नाटक प्रस्तुत गर्छन्। श्वेतभैरव र महाकालीबीचको "खास्टो लुट्ने" नाच जीवन्त नाटकीय प्रस्तुति हो, जसले मायालु जीवन र सम्मानको सन्देश दिन्छ ।

शास्त्रीय किंवदन्तीसँग जोडिएको उत्पत्ति कथा
नालागाउँको ब्रह्मायणी जोल भन्ने जंगलमा नवदुर्गाको प्रकट भई भोगबलि लिने परम्परा थियो। एक सिद्ध तान्त्रिक आचाजुले ती देवगणलाई मन्त्रबलीद्वारा नियन्त्रणमा लिई पूजा आरम्भ गरे तापनि उनको मृत्युपछि पुनः देवगण उन्मुक्त भई जनतालाई दुःख दिन थाले। पछि सोमराज ब्राह्मणले ती देवगणलाई पुनः नियन्त्रणमा लिई नाचमार्फत समाजमा ल्याएको किंवदन्ती छ ।

किंवदन्तीअनुसार नै, मुकुण्डो लगाउने व्यक्तिहरूले मोहनी (कालो टीका) लगाएर मात्र देव प्रतिनिधिको रूपमा मान्यता पाउँछन्। त्यसैले ‘मुबाहा’का रूपमा सुँगुर बलि अनिवार्य मानिन्छ ।

जात्राको सञ्चालन र विस्तार
माघे सङ्क्रान्तिपछि सुरु हुने जात्रा आठ महिना चल्छ। भक्तपुर नगरको २१ स्थानसँगै काठमाडौंको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा, नालामा पनि जात्रा सञ्चालन हुन्छ। जात्राको अन्त्यमा श्वेतभैरव र सम्पूर्ण देवगणको सामूहिक नाच प्रदर्शन गरिन्छ ।

वनमाला समुदायले पिढीँदेखि पाल्दै आएको यो कठोर नियम भएको नाच नाङ्गो खुट्टाले, खाली पेटमा र रक्सीको भरमा प्रदर्शन गरिन्छ। गुठी संस्थान, भक्तपुर नगरपालिका र राज्यबाट जात्राको संरक्षण र प्रवर्द्धनका लागि विशेष पहल आवश्यक भएको पूर्व सचिव रत्नमान वनमालाले बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट