Techie IT

२० करोड लागतमा नयाँ गुम्बा निर्माण

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सम्पन्न भएको छ।


मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सम्पन्न भएको छ। आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुम्बा’ निर्माण गरेको हो।

विसं २०७९ वैशाखमा ठेक्का सम्झौता गरेको बिएम अमित जेभीले गुम्बा निर्माण पूरा गरेपछि धार्मिक विधिअनुसार यसै हप्तादेखि गुम्बा सञ्चालनमा ल्याउने तयारी गरिएको मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रका इन्जिनियर सुदीप थकालीले जानकारी दिए।

उनका अनुसार, 'गुम्बाको भवन निर्माण, मूर्ति, सजावट, फर्निचर र अन्य सबै काममा पहिलो चरणमा २० करोड लगानी गरिएको छ। पाक्लिङलाई बोन धर्मको अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित १५ रोपनी क्षेत्रफलमा पूर्वाधार निर्माण भइरहेको छ।'

अस्ट्रेलिया र अमेरिकामा रहेको मुस्ताङ बोन फाउन्डेसनले समाज कल्याण परिषद्मार्फत गुम्बा र अन्य पूर्वाधार निर्माणका लागि मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रलाई सहयोग प्रदान गरेको छ।

दोस्रो चरणमा गुम्बा परिसरमा १८ करोडको लागतमा अस्पताल, बहुउद्देश्यीय सभाहल र अतिथिगृह निर्माणका कामहरू सुरु भएका छन्। तेस्रो चरणमा लामा विद्यालय भवन निर्माणका लागि डिजाइन तयार गरिएको छ, जसमा एक सय जना लामा विद्यार्थी र भिक्षुहरूलाई आवासीय सुविधा प्रदान गरिने बताइएको छ।

 

बुद्ध धर्मको प्रचार हुनुअघि नै तिब्बतमा बोन धर्मको स्थापना भएको र मुस्ताङमा पनि सोही धर्मको प्रभाव रहेको मानिन्छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले यस गुम्बाले धार्मिक पर्यटन विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे। यो गुम्बा जोमसोम–कागबेनी सडकको एक्लेभट्टी नजिकै रहेको छ।

पाक्लिङको छिमेकी गाउँ लुप्राका बासिन्दाहरूले अझै बोन धर्म मान्दै आएका छन्। १४ घरधुरी रहेको लुप्रा गाउँका सबैले बोन धर्म मान्छन्। थासाङको नाउरिकोट र मुक्तिनाथ नजिकैको झारकोटमा पनि बोन धर्म मान्ने केही घरधुरी रहेको जानकारी लुप्रामा रहेका फुङफुङ फेनलेलिङ गुम्बाका लामा योङडोङ फेनछोक गुरुङले दिए।

उनका अनुसार, बोन धर्म बुद्ध धर्मअन्तर्गतकै हो। मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले मुस्ताङ बोन फाउन्डेसनको सहयोगमा मुस्ताङका ६५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कक्षा १ देखि स्नातक तहसम्म छात्रावृत्तिमा पठनपाठनको व्यवस्था मिलाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट