विश्वकर्मा पूजा: यस कारण विशेष दिन
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यो पर्व विशेष गरी कालीगढहरूले विश्वकर्मा भगवान्को पूजा आराधना गर्दै वास्तु दिवसको रूपमा मनाउने गर्छन्।
विभिन्न कलकारखानाहरूमा विशेष रूपमा सजावट गरिन्छ र मजदुरहरूको सहभागितामा विधिपूर्वक पूजा गरिन्छ। पूजा गरिएको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने प्रचलन रहेको छ, जसलाई बुधबारदेखि नदीमा सेलाउने गरिन्छ।
विश्वकर्मा पूजाको दिन कालीगढहरूले विभिन्न औजार तथा उपकरणको पूजा गर्ने परम्परा छ। धार्मिक विश्वास अनुसार, पूजाआजा गरिएका औजारहरूले दीर्घकालसम्म राम्रो काम दिने र कामका बेलामा बिग्रने सम्भावना कम हुने मान्यता छ।
धार्मिक कथनअनुसार, द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिन थालेपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेर उनलाई लुकाएको उल्लेख छ। एकै रातमा समुद्रमा ‘भेद द्वारका’ बनाएकाले विश्वकर्मालाई सफल वास्तुविद् मानिन्छ, र यही परम्परा अनुसार विश्वकर्माको पूजा गर्न थालिएको हो।
नेपाल र भारतका कालीगढहरू यस दिनलाई विशेष महत्त्वका साथ मनाउँछन्। विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गरिन्छ। यस अवसरमा इञ्जिन जडान भएका सवारी साधनहरूमा समेत पूजा गरिन्छ।
वास्तु शास्त्रका ज्ञाता एवं लेखकहरूको सम्झनामा यो दिनलाई "वास्तु दिवस"का रूपमा समेत मनाइन्छ। हालका दिनमा नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण हुँदैछ। चार उपवेदमध्ये एक स्थापत्यवेदमा आधारित सहर एवं आवास निर्माणको विधिबाट प्रेरित भएर मानिसहरू यस क्षेत्रमा सक्रिय हुँदै गएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस